रेण्डपाण्डाको छालासहित बाँकेमा तीनजना पक्राउ

बाँके । संरक्षित वन्यजन्तु रेडपाण्डा (हाब्रे) को छाला र भालुका पित्तसहित प्रहरीले नेपालगन्जबाट तीनजनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका-१, पुष्पलाल चोक नजिकै एक होटेलबाट उनीहरुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

दाङस्थित घोराही उपमहानगरपालिका-४, का ४९ वर्षीय भक्तबहादुर पुन, सोही ठाउँका ४१ वर्षीय केशव पुन र शान्तिनगर गाउँपालिका-१, का २९ वर्षीय रोविन बुढा पक्राउ परेको प्रहरीले जनाएको छ । संरक्षित वन्यजन्तुका अंगको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरूका साथमा संरक्षित हाब्रेको छाला एक थान, भालुको पित्त जस्तो देखिने वस्तु चारवटा फेला पारी बरामद गरिएको छ । उनीहरुलाई वन ऐन २०७६ को दफा ४९ को (त) को कसुरमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिमको पाँच लाखदेखि १० लाखसम्म जरिवाना र पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान रहेको छ ।

सम्बन्धित