विभेदविरुद्ध निर्णायक आन्दोलनको आवश्यकता

वर्षौंदेखि विभेद, छुवाछुत र हिंसाबट पीडित आम दलित समुदाय यतिबेला रुपा सुनारको घटनाले आक्रोशित बनेका छन् । देशको मुटु भनिने राजधानीमा नै यस्ता घटना घट्नु पक्कै पनि आम नेपाली र राष्ट्रकै लागि लज्जास्पद अवस्था हो ।

कृष्णबहादुर विके रसाइली

यतिबेला आमसञ्चार माध्यम र सामाजिक सञ्जालमा फेरि जातीय छुवाछुतको घटनाले चर्चा परिचर्चा पाएको छ । रुपा सुनारको घटनाले यस मुद्दालाई बहसमा उतार्यो । यो घटना केही मान्छेका लागि सामान्य भए पनि छुवाछुत भोग्नेहरुलाई अत्यन्त पीडादायक घटना हो । यस्तै धेरैपटक घटेका घटनामा राज्यको उपस्थितिले आम दलित समुदायको जनावरको भन्दा पनि तल्लो तहको नागरिक हुन् भन्ने राज्य र कार्यान्वयन गर्नै निकायको सोंच छ भन्ने प्रष्ट हुन्छ ।

संसार आज आधुनिकीकरणबाट अगाडि बढिरहेका बेला नेपालमा दिनानुदिन कतै छुवाछुतका घटना त कतै महिला हिंसाका घटना बढ्दै गइरहेका छन् । वर्षौंदेखि विभेद, छुवाछुत र हिंसाबट पीडित आम दलित समुदाय यतिबेला रुपा सुनारको घटनाले आक्रोशित बनेका छन् । देशको मुटु भनिने राजधानीमा नै यस्ता घटना घट्नु पक्कै पनि आम नेपाली र राष्ट्रकै लागि लज्जास्पद अवस्था हो । विभिन्न समयमा छुवाछुतका घटनाहरु चर्चामा आइरहँदा सञ्चार माध्यमहरुमा आफूलाई सामाजिक अभियान्ता भनेर चिनाउने र पढेलेखेका तर जातीवादी सोंच भएका व्यक्तिहरुको अभिव्यक्ति, बहस, प्रतिक्रिया हेर्दा लाग्छ आज पनि संसारसामू सयौँ वर्ष पछाडि छौं । के साँच्चिकै नेपालका बौद्धिक, शिक्षित, सामाजिक अभियन्ता लाटो देशका गाडा तन्नेरी हुन् त ?

रुपा सुनारको घटनामा नेपाल प्रहरीले तत्काल मुद्दा दर्ता नगर्नु प्रहरी कार्यालयमा रहेका दोषीलाई मन्त्रीले झण्डावाल गाडीमा राखेर घरसम्म पुर्‍याउनुले देश दण्डहीनताको बाटोमा अगाडि बढिरहेको छ भन्ने देखाउँछ । राज्यमा बनेका ऐन कानुन र कार्यान्वयन गर्न अख्तियारी प्राप्त निकायका व्यक्तिहरुले कार्यान्वयन नगरे सो निकायका व्यक्ति पनि कानुनको नजरमा दण्डभागी हुन्छन् । नेपालमा यस्तै उदासिनताले जातीय छुवाछुतले दिनप्रतिदिन प्रोत्साहन पाइरहेका छन् ।

सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक विभेदबाट प्रस्त बनाइएको दलित समुदाय विभिन्न समयमा भएका परिवर्तनका आन्दोलनहरुमा सहभागी भएर थुप्रै दलितहरुले सहादत प्राप्त गरेका छन् । आन्दोलनमा सहभागी हुँदा आफूले भोगेका विभेदहरुको अन्त्य भएर समाजमा मानव भएर बाँच्न पाउने सपना बोकेर लागेका दलितहरु यतिबेला फेरि परिवर्तनको आन्दोलनको खोजीमा छन् । यतिबेला आम दलित समुदायलाई सम्पूणर् विभेदबाट मुक्त गर्न विभेदमुक्त समाजका पक्षधर सबै एकजुट भइ निर्णायक आन्दोलनमा होमिनु जरुरी भइसकेको छ । साभारः कालपृष्ठ ।

सम्बन्धित