प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरुद्ध भोलि कांग्रेसले सुर्खेतमा विरोध सभा गर्दै

सुर्खेत । नेपाली कांग्रेस सुर्खेतको आयोजनामा भोलि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले गरेको संसद् विघटनका विरुद्ध विरोध सभा गर्ने भएको छ । विरोध सभाका लागि अन्तिम तयारी भइरहेको नेपाली कांग्रेस सुर्खेतले जनाएको छ ।

नेपाली कांग्रेसले भोलि ७७ जिल्लामा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरुद्ध विरोधसभा हुने नेपाली कांग्रेस सुर्खेतका सभापती कमलराज रेग्मीले जानकारी दिए । कार्यक्रममा सहभागी हुन सभापती रेग्मी कार्यकर्तालगायत अन्य सबैलाई अपिल गरेका छन् । ‘लोकतन्त्र समाप्त पार्ने विरुद्ध अब एक हुन जरुरी छ,’ उनले भने, ‘लोकतन्त्र रहे हामी रहन्छौं । त्यसैले लोकतन्त्रको रक्षाका लागि हामी एक हुन जरुरी छ ।’ कार्यक्रम वीरेन्द्रनगरको पीपल चौतारामा हुनेछ । उक्त विरोध सभा कार्यक्रमको अध्यक्षता पार्टी जिल्ला सभापती रेग्मीले गर्नेछन् भने शिवराज जोशी, तत्तबहादुर विष्टलगायतका नेताहरुले विरोध सभालाई सम्बोधन गर्ने छन् ।

सम्बन्धित