अदालतलाई संविधानमाथि धारा थप्ने अधिकार छैन, व्याखा गर्ने मात्र होः नेता पौडेल

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले गरेको संसद् विघटनमा अदालतले संविधानमा भएको व्यवस्थाअनुसार व्याख्या गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडलले बताएका छन् । सुर्खेतमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले अदालतलाई संविधानमाथिका धारा थप्ने अधिकार नभएकाले संविधानका धारालाई व्याख्या गरेर फैसला गर्ने बताएका हुन् ।

संसद् विघटनको अधिकार संविधानले प्रधानमन्त्री ओलीलाई नदिएको भन्दै उनले शक्ति दरुपयोग गरी ओलीले संसद् विघटन गरेको बताए । लोकतन्त्रको रक्षाका लागि कांग्रेसले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोधमा उत्रिएको उनले भनाइ छ । ‘अहिले लोकतन्त्र खतरामा छ । लोकतन्त्रमाथि प्रहार भइ रहेको छ । लोकतन्त्रमाथि प्रहार भएको कांग्रेसले पनि देखेको छ,’ उनले भने, ‘यो विषय अदालतमा गएको छ, हामी बोल्न मिल्दैन भन्नु हुँदैन । आफूले देखेको कुरा साक्षीका रुपमा प्रस्तुत हुनुपर्छ ।’ ‘हाम्रै अगाडि कसैले मान्छे मारेको छ । त्यो आफूले प्रत्यक्ष पनि देखेको भने त्यो अदालतले फैसला गरेपछि बोल्छु भन्नु मुर्खता हो,’ उनले भने, ‘त्यसैले आफूले देखेको यथार्थ कुरा साक्षीका रुपमा बोल्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले जानाजान हुनै नसक्ने निर्वाचन तोकेको उनको जिकिर छ । ‘जनताले दिएको मतले लामो समयदेखिको राजनीति स्थिरताको अवस्था आएको थियो,’ उनले भने, ‘तर कम्युनिस्ट नेताले एकआपसमा शक्तिको दुरुपयोग गरे ।’ जनताले कम्युनिस्ट पार्टीलाई दिएको मत सर्वसाधारणको दैनिक सहज हुने गरेर काम गर्नुपर्ने भन्दै उनी भन्छन्, ‘उक्त शक्ति आफूआफूमा भागबण्डा गर्दा पार्टी विभाजनसम्मको स्थितिमा पुग्यो ।’ नेताहरुले शक्ति आफ्ना नेता कार्यकर्ता पोस्न प्रयोग गरेको उनको आरोप छ । ‘दुई महिना अगाडि माधव-प्रचण्ड समूह सरकारले राम्रो काम गरेको छ भन्दै हिँड्नु हुन्थ्यो,’ उनले भने, ‘आज दुई महिना पछाडि सरकारले कसरी नराम्रो काम गर्‍यो । भ्रष्टाचार आरोपित नेता तथा कार्यकर्तालाई जोगाउन एक ठाउँमा हुने । अहिले विवाद भएपछि राम्रो होइन भन्न मिल्छ ?’

नेकपाका विवादलाई निर्वाचन आयोगले सहजीकरण गरेको उनको आरोप छ । ‘हामी एउटै पार्टीमा बस्दैनौं भन्दै एकले अर्कालाई कारबाही गरे । पार्टीबाट निस्कान गरिसके,’ उनले भने, ‘तर निर्वाचन आयोग जबरजस्ती तपाइँहरु छुट्टिनु भा छैन । एकै हो भनेर सहजीकरण गर्छ ।’ यो कम्युनिस्ट आयोग हो की जनताको निर्वाचन आयोज हो भन्दै आयोगप्रति पश्न गर्दै भने, ‘आयोगको काम कसैको विवाद मिलाउने नभइ व्यवस्थाअनुसार काम कारबाही हुनुपर्छ ।’

साथै उनले कांग्रेसको महाधिवेशन समयमै हुनुपर्ने बताए । ‘हामी प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चाले भन्दै विरोधमा छौं,’ उनले भने, ‘अनि कांग्रेसले आफैँ आफ्नो विधानबमोजिम चल्नु पर्दैन ?’ कांग्रेसको विधानले दिएको व्यवस्थाअनुसार महाधिवेशन हुनुपर्ने उनको भनाइ छ । कार्यक्रम नेपाली कांग्रेस सुर्खेतका सभापती कमलप्रसाद रेग्मीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसको पार्टी कार्यालयमा भएको थियो ।

सम्बन्धित