माधव-प्रचण्ड समूहविरुद्ध कांग्रेस, ओली समूहको नेकपा र राप्रपाको गठबन्धन

नवीन पौडेल

सल्यान । सल्यान उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि माधव-प्रचण्ड र नेपाली कांग्रेस, केपी शर्मा ओली समूहको नेकपा र राप्रपाको गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन कार्यतालिकाबमोजिम बुधबार दुवै प्यानलले आआफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

नेपाली कांग्रेस, केपी ओली नेतृत्वको नेकपा र राप्रपाको संयुक्त समर्थनबाट कुमार बुढाथोकीले उम्मेदवारी दिएका छन् भने माधव-प्रचण्ड नेतृत्वको नेकपाको समर्थनबाट राजेन्द्र थापाले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा वीरेन्द्र श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा भरत बस्नेत, उद्योग उपाध्यक्षमा प्रेमबहादुर पुन, महासचिवमा रुपक बुढा, कोषाध्यक्षमा सुरेन्द्र बुढा र सचिवमा सुरेश केसीले नेपाली कांग्रेस, केपी ओली नेतृत्वको नेकपा र राप्रपाको संयुक्त प्यानलबाट उम्मेदवारी दर्ता गराएका छन् । यता माधव-प्रचण्ड नेतृत्वको नेकपाबाट वरिष्ठ उपाध्यक्षमा हरिलाल डिसी, वाणिज्य उपाध्यक्षमा वीरेन्द्रप्रकाश भण्डारी, उद्योग उपाध्यक्षमा शंकर यरी, महासचिवमा मोहन सारु, कोषाध्यक्षमा अशोककुमार बोहोरा र सचिवमा विकास डिसीले उम्मेदवारी दर्ता गरेका छन् ।

यसको साथै तीनजना महिला सदस्य, एकजना दलित सदस्य, एकजना जनजाती सदस्य, एकजना अल्पसंख्यक सदस्य, सातजना खुल्ला सदस्य र एकजना वस्तुगत सदस्य पदका लागि पनि दुवै प्यानलले आआफ्नो उम्मेदवारहरु खडा गरेका छन् । निर्वाचन कार्यतालिका अनुसार फाल्गुन २० गते उम्मेदवारको नामावली उपर दाबी विरोध तथा उम्मेदवारी फिर्ताको समय रहेको छ । यस्तै फाल्गुन २१ गते उम्मेदवारको नामावली उपर छानबिन, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा नमुना मतपत्र प्रकाशनको तालिका रहेको छ । यस्तै फाल्गुन २९ गते बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म मतदानको समय रहेको छ ।

सम्बन्धित