१३ वर्षको उमेरमै विद्यालय खोल्ने चन्द्रप्रभा !

बीबीसी । कुरो सन् १९२५ को हो । असमको नौगाउँमा असम साहित्य सभाको बैठक बसिरहेको थियो । बैठकमा महिलाहरूका लागि पनि शिक्षालाई प्राथमिकतामा राख्‍ने र बालिकाहरूका लागि शिक्षाको विस्तारमा जोड दिने विषयमा चर्चा भइरहेको थियो ।

बैठकमा महिला-पुरुष दुवैको सहभागिता थियो, तर महिलाहरू केही अलग भएर बाँसको पर्दा पछाडि बसेका थिए । चन्द्रप्रभा सैकियानी मञ्‍चमा चढिन् र बुलन्द आवाजमा भनिन्, “तिमीहरू किन पर्दा पछाडि बसिरहेका छौं !” त्यसपछि उनले पर्दामा रहेका महिलाहरूलाई अगाडि पुरुषहरू भएको ठाँउमा आउन आग्रह गरिन् ।

यति मात्रै होइन, उनको यो भनाइले बैठकमा सहभागी भएका महिलाहरू यति उत्साहित भए कि उनीहरूले आफूहरूलाई अलग गर्ने बाँसको त्यो पर्दालाई भत्काइदिए । चन्द्रप्रभाको यस पहललाई त्यस समय असमको समाजमा व्याप्त पर्दा प्रथालाई हटाउने महत्त्वपूणर् भूमिका मानिन्छ ।

१३ वर्षको उमेरमा खोलिन् विद्यालय

असमकी यी फरासिली महिलाको जन्म सन् १९०१ मार्च १६ मा कामरूप जिल्लाको डोइसिंगारी गाउँमा भएको थियो । उनका बुबा रतिराम मजुमदार गाउँका प्रमुख थिए र उनले छोरीको पढाइमा धेरै जोड दिएका थिए । चन्द्रप्रभा आफूले मात्रै पढिनन्, आफूजस्तै पढ्न खोज्‍ने गाउँका केटीहरूमा पनि विशेष ध्यान दिइन् ।

चन्द्रप्रभाका नाति, अंतनु सैकिया, जो पेसाले पत्रकार हुन् । उनी भन्छन्, “जब उहाँ १३ वर्षको हुनुहुन्थ्यो त्यसैबेला गाउँमा केटीहरूका लागि प्राथमिक विद्यालयको स्थापना गर्नुभयो । १३ वर्षकी शिक्षिकालाई देखेर स्कुल इन्स्पेक्टर प्रभावित भए र उनले चन्द्रप्रभालाई नौगाउँ मिसन स्कुलका लागि विशेष वृत्तिको व्यवस्था गरिदिए । केटीहरूका लागि दिइने शिक्षामा विद्यमान भेदभावविरुद्धको आवाजलाई चन्द्रप्रभाले नौगाउँ मिसन स्कुलमा बुलन्द रूपमा राख्नुभयो । यस्तो गर्ने उहाँ प्रथम नारी मानिनुहुन्छ ।” उनले सन् १९२०(२१ मा किरोनमोयी अग्रवालको सहयोगमा तेजपुरमा महिला समिति गठन गरिन् । चन्द्रप्रभामाथि उपन्यास लेखेकी निरुपमा बोरगोहाई भन्छिन्, ‘‘चन्द्रप्रभा र अन्य स्वतन्त्रता सेनानीहरूले वस्त्र योजना अर्थात् विदेशी कपडा बहिष्कारको अभियान सुरु गर्दै विदेशी कपडाहरू जलाए, जसमा महिलाहरूको ठूलो संख्यामा सहभागिता रह्यो । त्यस समयमा महात्मा गान्धी तेजपुर गएका थिए ।’’ निरुपमाको उपन्यास ‘अभिजात्री’लाई साहित्य एकेडेमी पुरस्कार पनि दिइएको थियो ।

उनी भन्छिन्, ‘‘चन्द्रप्रभाको बिहे कलिलो उमेरमै पाको उमेरका पुरुषसँग गरिदिइएको थियो । तर उनले विवाह अस्वीकार गरेकी थिइन् ।’’

लेखिका निरुपमा बोरगोहाई चन्द्रप्रभालाई निकै साहसी महिला मान्छिन् । जतिखेर उनी शिक्षण पेसामा थिइन्, त्यसैबेला उनी अविवाहित आमा बनिन् । पछि त्यो सम्बन्ध पनि सफल भएन । तर उनले त्यस छोरालाई आफैंले पाल्ने फैसला लिइन् र आफैंले हुर्काइन् । स्वतन्त्रता आन्दोलनमा सक्रियता

चन्द्रप्रभा सैकियानीले महिलाहरूको शिक्षाका लागि मात्रै नभइ उनीहरूको अधिकारका लागि पनि चेतना फैलाउने र स्वतन्त्रता आन्दोलनलाई उनीहरूसम्म पुर्‍याउन देशभरी साइकल यात्रा गरिन् । यस्तो कदम उठाउने राज्यकै प्रथम महिला बनिन्, उनी ।

चन्द्रप्रभाका नाति अन्तानु भन्छन्, “गाउँमा पछाडि पारिएका जातिहरूलाई पोखरीबाट पानी लिन अनुमति थिएन, चन्द्रप्रभा सौकियानीले यसविरुद्ध आवाज उठाइन् । यसविरुद्ध लडिन् र जनतालाई उनीहरूको हक दिलाइन् । उनकै निरन्तर प्रयासका कारण अनुसूचित जातिकाहरूले पोखरीबाट पानी लिन पाए । उनीहरूले मन्दिरमा पिछडिएका जातिको प्रवेश रोकविरुद्ध पनि आन्दोलन गरे, तर यसमा भने सफल हुन सकेनन् ।”

सन् १९३० मा उनले असहयोग आन्दोलनमा पनि भाग लिइन् र यसकै कारण उनी जेल पनि गइन् । सन् १९४७ सम्म उनी कांग्रेस पार्टीका कार्यकर्ताका रूपमा काम गरिरहेकी थिइन् । उनी राम्रो कामकै कारण सन् १९७२ मा पद्मश्री बाट सम्मानित भइन् ।

(सुशीला सिंहरबीबीसी संवाददाता)

सम्बन्धित