सल्यानमा आगलागीबाट तीन घर जलेर नष्ट

सल्यानमा शुक्रबार बिहान आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । कपुरकोट गाउँपालिका-२, दानबाङका सुकबहादुर बुढाको घरबाट आगलागी हुँदा चित्रबहादुर र खड्कबहादुर घर्तीको घर जलेर नष्ट भएको हो ।

सुकबहादुर र चित्रबहादुरका घर जलेर पूणर्रुपमा नष्ट भएको छ भने खड्कबहादुरको घर आंशिक जलेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए । सुकबहादुरको दुई तले खरले बनाएको घर र घरभित्र भएको १५ हजार रुपैयाँसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चित्रहादुरको पनि घरसँगै एक तोला सुन र दुई लाख ७५ हजार रुपैयाँ पनि जलेर नष्ट भएको छ । खड्कबहादुरको घरमा लागेको आगो भने स्थानीय र प्रहरीले नियन्त्रणमा लिएकाले पूणर्रुपमा क्षति भएको छैन ।

उनको दुई कोठे दुई तले जस्तापाताले छाएको घरमा क्षति भएको छ । पश्चिमतिरको झ्याल र बार्दलीमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीबाट धनमाल नष्ट भए पनि मानवीय क्षति भने नभएको सल्यान प्रहरीले जनाएको छ ।

तस्विरः सांकेतिक

सम्बन्धित