अनुभूति

कलेन्द्र सेजुवाललाई भोट किन ? पत्रकारका सारथी कलेन्द्र

श्रमजीवी पत्रकारका सच्चा प्रतिनिधि केलेन्द्र सेजुवाल

गणेश विशु

द्वन्द्वले थिलोथिलो भएको रुकुममा पत्रकारिता गरेको म व्यावसायिक पत्रकारिताको खोजीमा थिए । रुकुम  पहुँचभन्दा बाहिर थियो । श्रमजीवी व्यावसायिक पत्रकारिताको लागि सहयोगी व्यक्तिको खोजीमा थिए म । एक दिन नागरिक दैनिकका ‘पश्चिमेली संस्करण’ का स्थानीय सम्पादक कलेन्द्र सेजुवाललाई म्यासेन्जरमा सन्देश पठाए, ‘सर नमस्कार । म गणेश विशु । रुकुमबाट । नागरिक दैनिक रुकुममा खाली छ । यदि आवश्यक परेमा म काम गर्न इच्छुक छु ।’

उताबाट उत्तर आयो, ‘नमस्ते । त्यस्तो भएमा म खबर गरौँला ।’ यत्तिकैमा हामी दुईबीचको संवाद सकियो ।

हामी दुवैजना एकआपसमा अपरिचित थियौं । नागरिक दैनिकको पश्चिमेली सम्पादक भएपछि मैले आफैँ उहाँलाई साथीका लागि फेसबुकमा अनुरोध पठाएको थिए । अपरिचित व्यक्तिको अनुरोध स्वीकार गरी कुरा गरेपछि म खुसीले गद्गद भए । एउटा सामान्य पत्रकारसँग कुरा गर्नु सम्पादकको गौरवको कुरा नहोला तर सम्पादकसँग कुरा गर्नु पत्रकारको गर्वको कुरा हुन्छ र भइदियो ।

नागरिक दैनिक प्रकाशन हुँदादेखिका पत्रकार कमल थापाले नागरिक दैनिक आफूखुसी छाड्नु भएकाले लामो समयसम्म रुकुम नागरिक दैनिकको प्रतिनिधिविहीन भएको थियो । आफूभन्दा अगाडिका पत्रकारले रुची नराखेपछि मैले रुची राखेको थिए । सोही क्रममा उहाँको नम्बर उपलब्ध भयो र कुरा गरे,

मः ‘सर नमस्ते । के भयो होला रुकुममा संवाददाता राख्ने कुरा ।’

कलेन्द्र सेजुवालः ‘अहिले त्यस्तो केही योजना छैन । भएपछि म फोन गरौँला ।’

मैले सुनेको एउटा संवाददातासमेत छनोट गर्दा राजनीतिक आस्था हेरिन्छ । तर उहाँ कुन संगठनको मैले वास्ता गरेन् । मैले खाली नागरिक दैनिक पश्चिमेली संस्करणको सम्पादकका रुपमा हेरे । उहाँ पनि म कुन संगठनको सायद थाहा थिएन । हामी दुईबीच कुरा भएको करिब चार/पाँच महिनापछि ‘गणेश रुकुममा संवाददाता राख्दैछौं । के छ तिम्रो मनसाय’ भनेर फोन गर्नुभयो । म्यासेज र फोनमा कुरा गरेको लामो समयपछि फोनमा यसरी सम्पादक आफैँले सोध्नु मेरा लागि सामान्य कुरा बनेन् । हत्तपत्त मैले म राजी छु भने । उहाँले व्यक्तिगत विवरण माग्नु भयो । सोहीअनुसार पठाए ।

उहाँको त्यो व्यावसायिक छनोटले म मुलधारे पत्रकारितामा जोडिए । त्यसभन्दा पहिला म नेपालको पहिलो पत्रिका गोरखापत्रमा काम गथ्र्ये । गोरखापत्रमा लामो समयदेखि काम गरेका समाचारदातालाई करार वा अस्थायी गराउन देशभरिका रिपोर्टले अनुरोध गर्दा सुनुवाइ नभएपछि म सरकारी मिडिया छाड्ने मनसाय बनाएको थिए । श्रमजीवी पत्रकारिताको पक्षमा भएको उहाँको निर्णयले मलाई पत्रकारितामा हौसला मात्र थपिएन, क्रियाशीलता पनि बढाइदियो । उहाँको अभिभाकत्वले म पत्रकारितामा उदाउँदै गए । जहाँसम्मकी एक महिनामा मेरा करिब एक सय ५० वटासम्म समाचार प्रकाशन भए । नागरिक दैनिक २० पेज प्रकाशन हुँदा कुनै एक दिन सम्पादकीय र विचारको पृष्टबाहेक पहिलोदेखि अन्तिम पेजसम्म मेरो बाइलाइनसहितका समाचार प्रकाशन भएका थिए । मोफसलका पत्रकारका लागि योभन्दा खुसीको कुरा के हुनु । सायद उहाँको अभिभावकत्वबिना त्यो असम्भव थियो । त्यतिमात्र होइन छोटो समयमै म बढुवा भएँ । त्यो मेरो लगनशीलता, इमान्दारीता र व्यावसायिकता थियो र उहाँको कुलश अभिभावकत्व पनि थियो । म बढुवा भएर नागरिक दैनिक पश्चिमेलीको समाचार सम्पादकसम्म पुगे । मेरो व्यावसायिक पत्रकारिताको अभिभावक कलेन्द्र सेजुवाल दाजु नागरिक दैनिक छाडेर कान्तिपुर दैनिकमा आबद्ध हुनुभयो । पहिलापहिला मैले आफैँ अभिभावकविहीन जस्तो महसुस गरे । तर अर्काे मिडियामा आबद्ध भए पनि उहाँले मलाई दिने मार्गदर्शन कत्ति कम भएन । अझ आफू कार्यरत मिडियामा आउन अनुरोध गर्नुभयो । तर बाध्यताबस त्यो सम्भव भएन र कुशल अभिभावकसँग सँगै काम गर्ने अवसर मिलेन । यो उहाँले व्यावसायिक पत्रकारिताको विषयमा गरेको योगदान हो । तर उहाँले पत्रकारको पारिवारिक समस्यालाई समेत समाधान गर्न अग्रसर हुनुभयो ।

धेरै उदाहरण छन् तर म तत्कालकै उदारहण स्मरण गर्न चाहान्छु । मेरो छोरा सम्राट आर्थिक अभावमा अस्पतालभित्र मृत्युसँग लड्दै थियो । आर्थिक समस्या हुँदा म र श्रीमती प्रेमा बेहोसी थियौं । तर यस्तो परिस्थितिमा ‘गणेश चिन्ता नगर । तिम्रो समस्या मेरो समस्या हो । तिम्रो साथमा म पनि छुँ’ भन्दै आत्मबल थप्नुभयो । उहाँले त्यति कुरा मात्र गर्नुभएन, उपचारका लागि आफूले केही आर्थिक सहयोग गरेर आर्थिक संकलनका लागि अभियानसमेत चलाउनु भयो । समाचार लेखेर परिवारको उपचारसमेत गर्न नसक्ने म जस्तो श्रमजीवी पत्रकारका लागि योभन्दा ठूलो के हुन सक्छ । उहाँको उक्त कार्यले हामीमा खुसीको सीमा रहेन । त्यसपश्चात् नागरिक दैनिकमा कार्यरत भाई लोकेन्द्र खनाल, अति मिल्ने पत्रकार साथी गोविन्द केसी, पत्रकार बहिनी ज्योति कटुवाललगायतले अभियान चलाउनु भयो । थुप्रै सहयोगी पत्रकारहरु र अन्य पेसा व्यवसायसँग जोडिएकाले सहयोग गर्नुभयो । अझै धेरै साथीहरुले सहयोग गर्दै हुनुहुन्छ । उक्त सहयोगले पत्रकारको परिवार र स्वयम् आफ्नो जीवन रक्षाका लागि अहम भूमिका खेल्यो । व्यावसायिक पत्रकार र उसका परिवारको जीवन रक्षाका लागि जीवन सुम्पिने आदरणिय कलेन्द्र सेजुवाल दाई अहिले नेपाल पत्रकार महासंघको केन्द्रीय कोषाध्यक्ष पदमा परेको उम्मेदवारीले म जस्तो व्यावसायिक पत्रकारहरुको छाती फुलेको छ ।

यो उम्मेदवारीले उहाँ मात्र होइन मेरो आफ्नै उम्मेदवारी परेको महसुस भएको छ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा यस्तै क्रियाशील पत्रकार आउन जरुरी छ । जसले म जस्ता सयौं पत्रकारकार पीडा र दुःखका विषयमा काम गथ्र्ये । पत्रकारको हक अधिकार र पेसागत सुरक्षाका लागि अहोरात्र खटिने उहाँको उम्मेदवारीले मेरो जित सुनिश्चित गरेको छ । उहाँल जित्नु म मात्र होइन, श्रमवीजी व्यावसायिक पत्रकारले जित्नु हुनेछ । पत्रकारिता र जीवन रक्षाका लागि हजुरले गर्नुभएको सहयोगको ऋण त म तिर्न सक्दैन, हजुरलाई एकमत दिएर म केही क मगर्न चाहान्छु । यो ऋण तिरेको नसम्झनू मैले तपाइँप्रति गरेको सम्मान सम्झनू होला । विजयको सफलताको शुभकामनासँगै अग्रिम बधाइ छ कलेन्द्र सेजुवाल दाजु ।

लेखक गणेश विशु नागरिक दैनिक पत्रकार हुन् । हाल उनी कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कार्यरत छन् ।

सम्बन्धित