रुकुममा पनि हार्छ माओवादी !

माओवादीको इलाकामा चुनाव जित्नु कांग्रेसका लागि त्यति सजिलो थिएन । संख्यात्मकभन्दा रणनीतिक योजनामा पत्रकारका नेतादेखि पार्टी नेतृत्व सक्रिय भयो ।

गणेश विशु

रुकुम यस्तो जिल्ला हो, जहाँ नेकपा माओवादीले सबै स्थानीय तहको चुनाव एकलौटी जितेको छ । नेपालका कुनै पनि जिल्लामा माओवादीले यसरी एकलौटी जितेको छैन । यही रुकुम हो तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धको उद्गमस्थल । जसलाई माओवादीको इलाका भनिन्छ । रुकुममा हुने निर्वाचनमा माओवादीका उम्मेद्वारले हारेको मैले थाहा पाएको छैन । केन्द्रमा माओवादी बेलाबेला प्रतिपक्षमा रहे पनि रुकुममा स्थायी सत्ता पक्ष बनिरह्यो । पार्टी मात्र होइन भातृसंस्थाका बीचमा हुने अधिवेशनमा सर्वसम्वत्बाहेक चुनावी नतिजा माओवादीको पोल्टामा पर्‍यो । त्यसैले भनिन्छ, ‘रुकुम माओवादीको इलाका ।’ जहाँ माओवादी एकलौटी सत्ता चलाइरहेको छ । तर यस्तो ठाउँमा पनि माओवादीले हार्दो रहेछ !

त्यो पनि विपक्षी बलियो भएर होइन, रणनीतिक योजना बलियो बनाएर विपक्षी  विजयी भयो । मैले नेपाल पत्रकार महासंघको चुनावलाई यहाँ जोड्न खोजुको हुँ । पत्रकारलाई कुनै पार्टीको सदस्य भन्न त खोजेको होइन तर पार्टीका भातृसंस्थाको प्रतिनिधित्व भएकाले मैले पार्टीसँग जोड्न खोजेको हुँ । चैत २५ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन, नेकपा एमाले निकट प्रेस चौतारी र माओवादी निकट प्रेस संगठन नेपाल सहभागी थिए । ती संस्था पार्टीका शुभेच्छुक संस्था हुन् । स्वभाविकरुपले ति संस्थाका सदस्य माओपार्टीका आस्थावान् हुन्छन् । पत्रकारिता गर्दा ऐना कति देखाउने वा नदेखाउने भन्ने मात्र हो । यही विश्लेषणअनुसार मैले मात्र होइन धेरैले नेपाल पत्रकार महासंघको चुनावलाई पत्रकारको मात्र होइन पार्टीसँग जोडेर हेर । नतिजा आफ्नो पोल्टामा पार्न पार्टी नेतृत्व पनि यसमा सक्रिय बन्यो ।

नेपाली कांग्रेस र एमाले माओवादीको दबदबालाई भत्काउन चाहान्थ्यो भने माओवादी आफ्नो दबदबा कायमै राख्न चाहान्थ्यो । त्यसैले पत्रकार महासंघको अधिवेशनमा सहमति हुन सकेन । यसभन्दा अघि एमाले र माओवादी निकट संस्थाले महासंघको नेतृत्व गरी सकेका थिए । नेपाली कांग्रेस निकट प्रेस युनियनले सधैं सघाइ रह्यो मात्र । माओवादी निकट पत्रकारका नेताहरुसँग कांग्रेस निकट पत्रकारहरुले सहमति कार्यान्वयनको विषय उठाएपछि सहमति हुन सकेन । यसभन्दा अघिल्लो अधिवेशनमा प्रेस युनियनलाई सघाउने सहमति भएको थियो । तर संख्यात्मक सदस्य धेरै भएको भन्दै माओवादी निकट पत्रकारले अध्यक्ष छार्न चाहेन । आफ्नै अडानबीच केन्द्र र संघमा बनेको संगठनहरुबीचको सहमति दुवै समूह फरकफरक बाटो लागे र चुनाव भयो । चुनावी परिणाम कांग्रेस निकट पत्रकारका उम्मेद्वार विजयी भए । विजेताले ६० मत पाउँदा उपविजेताले ४७ मत प्राप्त गरे ।

यो हारको प्रमुख करण धोकाभन्दा पनि कम्युनिस्टभित्रका शासकका कारणले माओवादी पराजित भयो । नेतृत्वले सबैलाई एउटै डालोमा अटाउन सकेनन् । कोहीलाई काखा र कसैलाई पाखा राखेर भेद्भावपूणर् व्यवहार गर्दा निर्वाचनको परिणाम उल्टियो । कम्युनिस्ट शासक होइनन् सेवक हुन्छन् भन्ने यथार्त रुकुममा भेटिँदैन । कहिले कसो लाग्छ, कम्युनिस्ट शासक नै हुन्छन् । तर केही व्यक्तिको त्यो शासकीपन देखेर सबै कम्युनिस्टलाई शासक पनि भन्न गाह्रो भइरहेछ मलाई । रूकुममा प्रेस संगठको एक्लो तागतले महासंघको चुनाव जित्ने हैसियत हुँदाहुँदै पनि प्रेस संगठनले अघि सारेको उम्मेद्वारले हार्नु अहिले चर्चाको विषय बनेको छ । रुकुममा मत खसालेर कर्मथलो सुर्खेत फर्किँदा सबैले मलाई बधाइ दिए । कारण, ‘माओवादीको इलाकामा चुनाव युनियनले जित्नु ।’ ‘ओहो ! खत्रा रणनीतिले माओवादी निकट संगठनलाई चुनावमा हराउनु भयो,’ भन्दै प्रशंसा गर्छन् । उनीहरुको मानसिकतामा यस्तो छाप बसेको छ कि, ‘अरु सबै एक, माओवादी एक हुँदा पनि अरुले हार्छन र माओवादी जित्छ ।’ अवस्था त्यस्तै हो तर यसपालि रणनीतिक योजनामा माओवादीले फेल खायो । संगठनभित्रकै व्यक्तिले घात गर्नु, एकले अर्काको अस्तित्व नस्वीकानु, अरूको योग्यता, क्षमता र त्यागलाई सामान्यकरण गर्ने, आफू मात्रै जान्ने कहलिने, आफूलाई मात्रै सर्वाधिकार ठान्ने, आलोचनात्मक चेत र विचारहरूलाई जहिल्यै निषेध गर्ने, आफ्नो कमजोरी नदेख्ने, आफ्नो कमजोरीलाई स्वीकार्न गर्न नसक्ने, आफूले गरेको दोष जबरजस्त अरूमाथि थोपार्न खोज्ने जस्ता समस्याभित्र प्रेस संगठन रुमलियो । यो आरोप मैले मात्र होइन, स्वयम् सोही संगठनका जिम्मेवार व्यक्तिले सामाजिक सञ्जालमा लगाएको आरोप हो । अहिले रुकुममा भएको छ यही । सायद यो विचार सेयर हुने छ रे लेखिने छ, ‘कागेंसी सोंच ।’ हारको कारण खोज्नुभन्दा कसलाई दोषारोपन गरेर आफू उम्किने भन्ने छ । पत्रकारका नेता मात्र होइन यसबाट पार्टी नेतृत्वमा अछुतो रहन सकेन ।

त्यसैले रुकुममा पनि माओवादी आस्थावान्ले हार्छन भन्ने सन्देश दियो । सामाजिक सञ्जालमा कम्युनिस्ट आस्थावान्हरुले नेतृत्वप्रति तिव्र आलोचना गरेका छन् । कम्युनिस्ट आस्थावान् पनि संगठनभित्रका व्यक्तिलाई बदलाभाव राख्दा चुनावी नतिजा फरक आएको भन्दै आलोचना गरेका छन् । सामाजिक सञ्जालमै अधिवक्ता ताराप्रकाश ओलीले यस्तो लेखेका छन्, ‘माओवादीको लाल किल्लामा कमरेडहरुको प्रचण्ड बहुमतको बाबजुद पनि हार्नु भनेको अहंकार र दम्भको पराजयको संकेत हो । सत्ता र शक्तिको आडमा गरिएको अत्याचारको प्रेस संगठनकै साथीहरुले सचेत विद्रोह गर्नुभएको छ । हरि जी सक्षम व्यक्ति हुँदाहुँदै पनि उहाँ सम्वद्ध पार्टीले गरेको अपराधकर्मको कारणले अन्तर्घातको शिकार बन्नुपरेको छ । पहिलोपटक कम्युनिस्ट मित्रहरुले पनि अन्यायको प्रतिरोध गर्नुभएकोमा हार्दिक बधाइ । कमरेडहरु समयमै सच्चिनु भएन भने उहाँहरुको यसैगरी ओरालो यात्रा लाग्नेमा कुनै शंका छैन ।’ नवनिर्वाचित नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसीसहित विजेता पदाधिकारीको बधाइमा नेपाली कांग्रेसका नेता नन्द विष्टले, ‘माओवादी केन्द्रको कथित रातो बस्तीमा पत्रकार महासंघको चुनावमा प्रेस युनियनका उम्मेद्वार सेता मानिस लक्ष्मण केसीको विजयी । बधाइ ।’ उनले रातो र सेतो भनि दिए ।

माओवादीको इलाकामा चुनाव जित्नु कांग्रेसका लागि त्यति सजिलो थिएन । संख्यात्मकभन्दा रणनीतिक योजनामा पत्रकारका नेतादेखि पार्टी नेतृत्व सक्रिय भयो । आफ्ना मतदाता सुरक्षित राख्ने र प्रतिस्पर्धीका मतदातालाई कसरी आकर्षण गर्ने भन्ने विषयमा कांग्रेस निकट पत्रकार र पार्टी सचेत बन्यो । जसले गर्दा युनियन आफ्नो गठबन्धको मतले मात्र होइन प्रेस संगठनका मतले विजयी भयो । रणनीति निर्माणमा कसैलाई कसैको शंका थिएन । बदलाभाव र व्यक्तिगत रीसइबी पनि भएन । सबैको एउटै लक्ष्य र उद्देश्य थियो, ‘अध्यक्ष प्रेस युनियन ।’ व्यक्ति होइन, सिंगो युनियन भने रणनीतिक योजना बन्यो र सोहीअनुसार समूह बनाएर र व्यक्तिव्यक्तिगत भएर योजना कार्यान्वयनमा सदस्यहरु लागे । यसको परिणाम विजयीको सफलता मिल्यो । नेपाल पत्रकार महासंघ रुकुमको अध्यक्षमा निर्वाचित हुनुभएकोमा प्रिय साथी लक्ष्मण केसीलाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना । महासंघले सक्रिय, सक्षम र समन्वयकारी नेतृत्व पाएको छ ।

लेखकः नागरिक दैनिकका पत्रकार ।

सम्बन्धित