यसरी पक्राउ परे नक्कली डाक्टर

रुकुम पश्चिम । शैक्षिक प्रमाणपत्र किर्ते अभियोगमा रुकुम पश्चिमबाट एकजना डाक्टर पक्राउ परेका छन् । चौरजहारी मिसन अस्पतालमा कार्यरत ३१ वर्षीय डा. दीपेन्द्र गौतम पक्राउ परेका हुन् ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले आइतबार अस्पतालबाटै पक्राउ गरेको हो । उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंले पक्राउ आदेश दिएको थियो । मनाङस्थित साविकको चामे गाविस–५ का डा. गौतममाथि एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते रहेको अभियोग छ । शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर भएको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको सिआइबीका प्रवक्ता गंगा पन्तले जानकारी दिइन् । एमबीबीएस अध्ययनका लागि बंगलादेश जान एसएलसीको मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्म मिति, प्राप्ताङ्कलगायतका विवरण सच्याइएको अनुसन्धानबाट खुलेको उनको भनाइ छ । ‘आवश्यक नाम, जन्म मिति, उत्तीर्णाङ्क थपघट गरेर किर्ते शैक्षिक योग्यताको प्रमाणपत्र बनाएका रहेछन्,’ उनले भनिन्, ‘सोही आधारमा बंगलादेश एमबीबीएस अध्ययनका लागि नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट स्वीकृति लिएको देखिएको छ ।’

डा. गौतमकलाई आइतबार चौरजहारी मिसन अस्पतालबाटै पक्राउ गरिएको हो । उनले व्यक्तिगत लाभका लागि नेपाल सरकारबाट जारी गरिने एसएलसीको मार्कसिट किर्ते गरी लिखतसम्बन्धी कसूर अपराध गरेका सिआइबीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको सिआइबीका प्रवक्ता पन्तले जनाइन् ।

सम्बन्धित