ओली पक्षमा लागे सुर्खेतका सांसद ध्रुवकुमार शाही

सुर्खेत । सुर्खेतबाट निर्वाचित सांसद ध्रुवकुमार शाही वरिष्ठ नेता माधव नेपाल समूह छोडेर नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको पक्षमा लागेका छन् । सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै सांसद शाहीले आफू पार्टीको मूलधारमा लागेको बताए ।

‘मैले पार्टीभित्रको अन्तरसंघर्षमा माधव नेपाललाई साथ दिएको हो । अहिलेका गतिविधिले उहाँ (नेपाल) फुटको बाटोमा लाग्नुभएको छ । त्यसैले म पार्टीको मूल नेतृत्वमा लागेँ,’ उनले भने, ‘माधव नेपालले मलाई बोलाएर अर्को पार्टी बनाउनु पर्ने भयो अब तलसम्म यसको लागि लाग्नुपर्छ भनेपछि मैले उहाँको साथ छोडेको हो ।’ उनले एकताबद्ध एमालेले मात्रै देशको नेतृत्व गर्न सक्ने भएकाले फुट परस्त गतिविधिमा लाग्न नसकिने बताए ।

नेपाल पक्षधर २७ जना सांसदलाई ओलीले मंगलबार स्पष्टिकरण सोधेका थिए । शाही स्पष्टिकरण सोधिएका सांसदको सूचीमा छैनन् । नेपाल पक्षमा रहँदै आएका ३५ सांसदमध्ये गोकणर् विष्ट, राजबहादुर बुढा, गंगा चौधरी सत्गौवा, पार्वतीकुमारी बिसुङखे, कलिला खातुन, समिना हुसेन र बिना बुढाथोकीलाई ओलीले स्पष्टिकरण सोधेका थिएनन् । सेतोपाटी डटकमबाट साभार ।

https://www.setopati.com/politics/235198?fbclid=IwAR01MxsDO7uCz_TBsVdYhVyOh8E1r_XnBK8PTIQN8XhQJkcQWwbhdXqKmbo

सम्बन्धित