असुरक्षित सम्पदा

डोल्पामा पुरातात्विक मूर्ति चोरी

सम्पदा संरक्षणमा चासो नहुँदा मूर्ति चोरी भएको स्थानीयहरु बताउँछन् । यस्ता ऐतिहासिक सम्पदाको सरकारले सुरक्षा गर्नुपर्ने उनीहरुको भनाइ छ ।

सुर्खेत । डोल्पास्थित काइके गाउँपालिका-१, टाछिङस्थित जंगलको बीचमा रहेको खागर बौद्ध गुम्बाका ऐतिहासिक महत्वका मूर्तिहरु चोरी भएका छन् । मन्दिरमा राखिएका त्रिकाल बुद्धका दुई थान मूर्ति चोरी भएका हुन् ।

तीन/चार सय वर्ष पहिला राखिएका उक्त मूर्ति हराएका वडाध्यक्ष छिरिङ तन्दुरुप लामाले बताए । चैत २४ गते स्थानीय उक्त मन्दिरमा गएर पूजाआजा गरेका थिए । मंगलबार स्थानीय घेगा पर्वमा लिंगो चढाउन जाँदा मूर्ति हराएको थाहा भएको उनले बताए । ‘चैतमा पूजाआजा गरेर गाउँले फर्किएका थिए,’ उनले भने, ‘मंगलबार लिंगो हाल्न जाँदा ढोका खुला अवस्थामा थियो ।’ भित्र गएर हेर्दा पुरातात्विक महत्व बोकेका मूर्ति हराएको उनको भनाइ ।

मन्दिरको ढोका फोरेर मूर्ति चोरी भएको प्रहरीले जनाएको छ । धार्मिक आस्थाको धरोहर मानिने यो मन्दिर गाउँभन्दा करिब चारघण्टा टाढा जंगल बीचमा छ । ‘मन्दिरभन्दा नजिक चारघण्टा दुरीमा कोलागाउँ पर्छ,’ वडाध्यक्ष लामाले भने, ‘मन्दिरमा असुरक्षाका कारण मूर्ति चोरी भयो ।’ यहाँ प्रत्येक वर्ष भदौ ११ गतेदेखि तीन दिनसम्म मेला लाग्ने स्थानीयको भनाइ छ । मूर्ति चोरी भएपछि स्थानीयले प्रहरी प्रशासनसँग गुहार मागेका छन् ।

यसभन्दा अघि करिब २० वर्ष पहिला पनि यी मूर्ति चोरी भएका थिए । हराएको भोलिपल्ट मन्दिर नजिकै मूर्ति फेला परेका थिए । ‘साउनभदौमा गोठालोले पत्ता लगाएको थियो,’ उनले भने, ‘हराएको कुरा तत्कालै थाहा पाएपछि खोजी सुरु गरिएको थियो । यसपालि भने कहिले हरायो भन्ने नै थाहा नभएको र चोरी गर्ने भागेको भए समस्या हुने स्थानीयको भनाइ छ । हराएका मूर्ति मान्छेभन्दा ठूला भएको वडाध्यक्ष लामाले जनाए ।

सम्पदा संरक्षणमा चासो नहुँदा मूर्ति चोरी भएको स्थानीयहरु बताउँछन् । यस्ता ऐतिहासिक सम्पदाको सरकारले सुरक्षा गर्नुपर्ने उनीहरुको भनाइ छ ।

सांकेतिक फाइल तस्विर ।

सम्बन्धित