रुकुमका पत्रकारलाई मास्क र सेनिटाइजर सहयोग

रुकुम पश्चिम । कोभिड-१९ अर्थात् कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि नेपाल पत्रकार महासंघ रुकुमले पत्रकार र सञ्चारगृहलाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको छ । शुक्रबार एक हजार पाँच सयवटा मास्क र २५ वटा सेनिटाइजर सहयोग गरेको हो ।

यस सहयोगले पत्रकारलाई समाचार संकलन गर्दा सहज हुने अपेक्षा गरिएको छ । महासंघले सञ्चारगृह र सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए । सदरमुकाम बाहिर र रुकुम पूर्वका लागि महासंघका प्रतिनिधिहरुमार्फत सामाग्रीहरु पठाइएको उनले जनाए । सामाग्रीहरु पहाडि साना किसानका लागि अनुकूलन आयोजना (आशा), हरप्लेस रुकुम, युनाइटेड सर्जिकल दाङ र स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमको सहयोगमा प्राप्त गरिएको नेपाल पत्रकार महासंघ रुकुमले जनाएको छ ।

जिल्लाका सञ्चारकर्मीहरुलाई पहिलो चरणमा उक्त सामाग्री उपलब्ध गराइएको र आगामी दिनहरुमा पनि अन्य निकायको सहयोगमा सामाग्री उपलब्ध गराइने महासंघले प्रतिबद्धता व्यक्त गरेको छ । महासंघका अध्यक्ष केसीले जिल्लामा निषेधाज्ञा जारी भएकोले यस्तो अवस्थामा सञ्चारगृहले सञ्चारकर्मीहरुका लागि घरमै बसेर काम गर्ने वातावरण मिलाउन र सञ्चारकर्मीहरु अत्यावश्यक अवस्थामा मात्र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी परिचय पत्रको साथमा रिपोर्टिङमा निस्कन अनुरोध गरे ।

सम्बन्धित