पत्रकारिता र असल पत्रकारको  जिम्मेवारी

पत्रकारले हर समय तीनवटा कुरामा अत्यन्तै ख्याल गरिरहुन पर्छ । समय, समाचार र समाज । हरेक समयको सानो पल पनि समाचारको खोजीमा बित्नु पर्छ र समाचारको खोजी समाजको वृहत्तर हितका पक्षमा हुनुपर्छ । पैसा, प्रभाव र पावर यी तीन कुराको लोभ भने पत्रकारले पाल्नु हुँदैन ।

  • एस.पी. ढकाल

कोरोना कहरका कारण बिदाको सदुपयोग घरमा आएर गर्नुपर्ने भयो । दराजभित्र थन्काइएका डायरी खोतल्न मन लाग्यो । धेरै डायरीहरू मेरो विगतका पत्रकारितासँग सम्बन्धित थिए । डायरीमा लिपिबद्ध गरिएको समाचारहरू एक-एक गर्दै पढें । सुरुमा आफैँले लेखेका समाचारको वाक्य सङ्गठन हेर्दासमेत आफैँमा हाँसो पनि उठ्यो । लेख्दै, सुन्दै र पढ्दै गर्दा निखारता आएको महसुस भयो । एक दशक समाचार सङ्कलन र सम्प्रेषणका लागि गरेका दु:ख, कष्ठलाई  स्मरणमा हराएँ । पत्रकारितालाई राज्यको चौथो अङ्गसमेत भनिन्छ । सञ्चार माध्यमको बढ्दो विकाससँगै पत्रकारहरूको सङ्ख्या पनि बढेको छ । साथै पीत पत्रकारिता भएको भन्दै विभिन्न टिप्पणी र आलोचना पनि उत्तिकै भएको पाइन्छ । सामाजिक सञ्जालको प्रयोगले हिजोआज झन धेरैलाई पत्रकारितातर्फ आकर्षित गरेको छ । अनुभव र पत्रकारिताका क्रममा प्राप्त ज्ञानका आधारमा पत्रकारिता के हो ? पीत पत्रकारिता कसरी हुन्छ ?  पत्रकार को हो ? असल पत्रकारका मूल्यमान्यता र  जिम्मेवारी के हुन् ? भन्ने सवालको चर्चा यो लेखमा गर्ने प्रयास गरिएको छ ।

पत्रकारिता के हो ?

पत्रकारले गर्ने कामलाई पत्रकारिता भनिन्छ । पत्रकारिता इतिहासको खेस्रा पनि हो । वर्तमानमा घटेका घटनाहरूको अध्ययन, विश्लेषण र सङ्ग्रह गर्ने काम पत्रकारिताले गर्दछ । समकालीन समाजको नयाँ कुरा जान्ने भवक तथा आफ्नो ज्ञान र जानकारीको भण्डार गर्ने आवश्यकता र शोखलाई पत्रकारिताले पूरा गरिदिन्छ । मानव समाजमा हाल के भइरहेको छ ? त्यो बुझ्न पत्रकारिता हेर्नु पर्दछ । यसर्थ पत्रकारितालाई समाजको ऐना पनि भनिन्छ । पत्रकारिता समसायमिक घटनाहरूको यथार्थ सङ्कलन, बुझिने भाषाशैलीमा लेखन तथा नागरिकको पहुँचको माध्यमबाट निरन्तर सम्प्रेष हो ।

पत्रकारितालाई आवाजविहीनहरूको आवाज पनि भनिन्छ । किनकी यसले चर्को आवाज भएकाहरूको मात्र होइन समाजका दिनहीनहरूको बारेमा पनि चर्चा गर्छ । आवाज नहुनेहरूलाई आवाज निकाल्न पत्रकारिताले प्रोत्साहित गर्छ । जनपक्षीय पत्रकारितामा शक्ति हुन्छ । एकपटक फ्रान्सका शासक नेपोलिनय वोनापार्टले आफ्नो साम्राज्य विस्तारकै अभियानमा क्रममा भनेका थिए, ‘म चार हजार दुश्मन सैनिकका सङ्गीनहरू भन्दा चारवटा मेरा विरोधी अखबारसँग डराउँछु’ । उनको यो भनाइले पत्रकारिताको शक्ति र महत्त्व  प्रष्ट हुन्छ ।

पीत पत्रकारिता

पछिल्लो समयमा पीत पत्रकारिता मौलाएको भन्दै विभिन्न टिप्पणीहरू सुनिन्छ । पीत पत्रकारिता के हो र किन हुन्छ भन्ने सवाल सन्दर्भ पनि महत्वपूर्ण छ ।  सन् १९८० तिर अमेरिकामा पहेँलो कागजमा छापिने पत्रिकाले निकै भ्रमपूर्ण सामग्री प्रकाशित गर्थे । उनीहरूले खासगरी बालबालिकालाई आकर्षित गर्ने सनसनीपूर्ण सामग्री प्रकाशित गर्थे । उनीहरूले धेरै नाफा कमाए । पछि त्यस्तै नाफा कमाउने उद्देश्यले अरूले पनि पहेँलो कागजमा त्यस्तै भ्रमपूर्ण सामग्री प्रकाशित गर्न थाले । पछि यसलाई पीत पत्रकारिता (Yellow Journalism) भन्न थालियो । यसरी भ्रमपूर्ण, व्यक्तिगत स्वार्थ सिद्धिका लागि प्रलोभनमा परि गरिने प्रचार पीत पत्रकारिता हो । जसमा तथ्य, प्रमाण र आधारहीन विषयवस्तुहरू सम्प्रेषण गरिएको हुन्छ ।

पत्रकारिता चौथो अङ्ग किन ?

पत्रकारितालाई लोकतन्त्रको चौथो अङ्ग भन्ने गरिन्छ । बेलायतको संसद्मा पहिले तीन प्रकारका प्रतिनिधि हुन्थे – सामन्त (Lards), पादरी (temporal) र जनता (Comman) का । बेलायतका एक संसद्ले संसद्मा बोल्दा ‘यी तीनैभन्दा पनि अझ शक्तिशाली उ त्यो किनारमा बसेको अङ्ग हो’ भनेर प्रेस तर्फ औंला सोझ्याएका थिए । त्यहाँदेखि प्रेसलाई राज्यको चौथो अङ्ग भन्न थालियो । तर, न त पत्रकारितालाई कानुनीरुपमा चौथो अङ्गको मान्यता नै छ वा शक्ति पृथकीकरणको सिद्धान्तमा नै पत्रकारितालाई छुट्टै शक्ति मानिएको छ । नीति निर्माणकर्ताले सञ्चारजगतका अगाडि चौथो अङ्ग भन्ने गर्छन् । निष्पक्ष पत्रकारिता सधैं आफ्नो पक्षमा नहुने भएकोले उनीहरू ‘चुत्थो’ अङ्ग भन्न पनि पछि पर्दैनन् । यद्यपि सही दिशा निर्देशको खबरदारीका लागि पत्रकारितामा ताकत छ ।

पत्रकार को हो ?

सञ्चार माध्यमहरूमा समाचार र विचार सङ्कलन, संयोजन,  सम्प्रेणण र वितरणको काममा सक्रियरूपमा कार्यरत व्यक्ति पत्रकार हो । जीवनको हरेक क्षेत्रमा जस्तै पत्रकारिताको प्रशिक्षण कामको शीलशिलामै हुने गर्दछ । पत्रकारले व्यवहारबाटै ज्ञान आर्जन गर्दछ । पत्रकार कलमको सिपाही हो । उसको प्रमुख हतियार कलम नै हो । वर्तमान विश्व मानव समुदायलाई रोटीको भोक र समाचारको भोगले सँगसँगै सताइरहेको छ । समाचार र रोटी ऊ सँगसँगै ग्रहण गर्न चाहन्छ । आफू र आफ्नो आसपासका गतिविधिहरूबारे उसको गहिरो रूची हुन्छ । ती सबै अभिरुची र नयाँ कुरा जान्ने भोक समाचारले पूरा गर्दछ । कहिले रोटीको अभाव समाचार बनेको हुन्छ त कहिले समाचार नै रोटी प्राप्त गर्ने माध्यम बन्न सक्छ । यस्तै विषयवस्तुको खोजी र उठानमा पत्रकार केन्द्रित हुन सक्नुपर्छ ।

असल पत्रकारको जिम्मेवारी

पाठक, स्रोताहरूलाई सूचना, शिक्षा, मनोरञ्जन र अभिप्रेरणा दिनु पत्रकारको मुख्य काम हो । तर यतिले मात्रै उसको काम, कर्तव्य पूरा हुँदैन । समालोचनात्मक चेतसहित  नागरिक हितप्रति उत्तरदायी र परिवर्तनको पक्षमा  हुनुपर्छ । विश्वसनीयता प्रदान गर्न सक्नुपर्छ । गरिबका पक्षमा, कमजोरका पक्षमा र न्यायका पक्षमा उभिनु पत्रकारको धर्म हो । पत्रकारसँग नैतिकता, मूल्य, ऊर्जा, उत्साह हुन आवश्यक छ । कुनै पनि घटनाको सत्यताको पींधमा पुग्नु र प्रमुख सत्य उजागर गर्नु पनि पत्रकारको मुख्य काम हो । पत्रकारले हर समय तीनवटा कुरामा अत्यन्तै ख्याल गरिरहुन पर्छ । समय, समाचार र समाज । हरेक समयको सानो पल पनि समाचारको खोजीमा बित्नु पर्छ र समाचारको खोजी समाजको वृहत्तर हितका पक्षमा हुनुपर्छ । पैसा, प्रभाव र पावर यी तीन कुराको लोभ भने पत्रकारले पाल्नु हुँदैन ।

जनतालाई सु-सूचित गरेर सही निर्णय लिन सक्षम बनाउने मूल जिम्मेवारी पत्रकारको हो । विश्वासका कारण पत्रकार जीवित हुने गर्दछ । सही सूचना दिन नसकेमा पत्रकारको विश्वसनिता गुम्न पुग्छ ।  प्रमाण तथा तथ्यविहीन कुराको अर्थ हुँदैन । समाचार सधैं तथ्यले प्रमाणले पुष्टि भएको हुनुपर्छ । समाचार तयार पार्नका लागि झुक्याएर सूचना लिने कुचेष्टा पत्रकारले कहिल्यै पनि गर्नु हुँदैन । समाजको लागि भन्दा व्यक्तिको पक्षमा समाचार सम्प्रेषण गर्दा पत्रकार धर्म सङ्कटमा पर्न जान्छ । आफूलाई साहसी देखाउनका लागि समाचारको विषयवस्तु मोडेर प्रस्तुत गर्न हुँदैन । भ्रमपूर्ण, व्यक्तिगत स्वार्थ सिद्धिका लागि प्रलोभनमा परि गरिने पीत पत्रकारितालाई तिरस्कृत गर्नसक्नु असल पत्रकारको बुद्धिमता ठहर्छ ।   जस्तो घटना अरूलाई समाचार बन्दैन त्यस्तो घटना पत्रकारले आफ्नो समाचार बनाउने प्रयास गर्नु उचित हुँदैन ।

प्रेस स्वतन्त्रता जनताको हो । त्यसलाई पत्रकारले जोगाउन सक्नुपर्छ । प्रेस स्वतन्त्रता जोगाउने हतियार जनताको विश्वास हो । पत्रकारलाई आम नागरिकभन्दा बढी अधिकार छैन भन्ने कुराको पनि ख्याल राख्न जरूरी छ । पेसागत कामलाई व्यक्तिगत उपयोग र प्रेस स्वतन्त्रतालाई शक्तिका रुपमा उपयोग गर्ने कुचेष्टा पत्रकारले गर्न हुँदैन । प्रेस स्वतन्त्रता अराजकताको लाइसेन्स होइन । यो कुरा पत्रकारले मनन गर्नुपर्छ । पत्रकारमा  इमान्दारिता हुनु पनि त्यतिकै आवश्यक छ  । आफ्नो इमान्दारिता माथि शङ्का उठ्ने काम पत्रकारले गर्न हुँदैन । आफ्नो छवि माथि प्रश्न उठ्ने कुराप्रति सधैं सचेत र चनाखो भएर काम गर्नु असल पत्रकारको गुण हो ।

असल पत्रकार सधैं सत्य र यथार्थको पक्षमा केन्द्रित हुन्छ । उसले एउटा व्यक्तिको कुरा सुनेर मात्र समाचार लेख्दैन । उसले स्रोता र पाठकबाट हरेक समाचारको जाँच भइरहेको  हुन्छ भन्ने कुराको हेक्का राखेको हुन्छ । यसर्थ समाचारको जाँचमा पत्रकार जिन्दगीभर प्रथम भइरहनु पर्दछ । पत्रकारले निष्पक्षता कायम गर्न सक्नुपर्छ । समाचार र विचारलाई मिसाएमा मात्र समाचारमा निष्पक्षता कायम हुन सक्छ । यसतर्फ जिम्मेवार पत्रकार सधैं सचेत हुन्छ ।

पत्रकार सधैं आस र त्रासबाट मुक्त हुनुपर्छ । पत्रकारिता किन र यसले स्रोतामा पार्ने प्रभाव के हो भन्ने प्रश्नलाई सधै हृदङ्गमन गर्न जरूरी हुन्छ । पत्रकारलाई जिम्मेवार बनाउन आचार संहिता बनाइएको हो । आचार संहिता पालनामा ख्याल राख्न सक्नुपर्छ  । सही सूचनाले कसैलाई तत्कालीन असर परे पनि भविष्यमा राम्रो गर्दछ । त्यसैले सही सूचना सम्प्रेषणमा पत्रकार कहिल्यै पनि चुक्न हुँदैन ।

निष्कर्ष

पत्रकारिता समाजको ऐना हो ।  पत्रकारिताले नागरिकलाई सूचित मात्रै गर्दैन  शिक्षित पनि गर्छ । यसका साथै मनोरञ्जन र अभिप्रेरणा पनि । नागरिकलाई सही निर्णय लिन सक्षम, प्रेस स्वतन्त्रताको रक्षा, पेसागत धर्ममा अडिन सक्ने स्वाधिनता असल पत्रकारको जिम्मेवारी हो ।  त्ससैगरी स्वच्छ, निष्पक्षता, सत्य र यथार्थको पक्षमा उभिनु सक्नुपर्छ । विषयवस्तुको ज्ञान, परिवर्तनशील, देशभक्त, सक्रिय, राष्ट्रहितको लक्षित उद्देश्य, मानवता असल पत्रकारका गुण हुन् । यसका साथै अध्ययनशील, जिज्ञासु, निडर र निर्भिक हुन पनि आवश्यक छ । धैर्यवान्, मिजासिलो, हंशमुख र जनसम्पर्कमा सक्रिय हुनु पनि उत्तिकै आवश्यक छ । भ्रमपूर्ण, व्यक्तिगत स्वार्थ सिद्धिका लागि प्रलोभनमा परि प्रचार गर्ने पीत पत्रकारिताको कुचेष्टा असल पत्रकारितका लागि घातक छ । जस्तोसुकै कठिन परिस्थितिमा पनि काम गर्न सक्ने उच्च मनोबलले मात्र असल पत्रकारको पहिचान दिलाउन सक्छ ।

सम्बन्धित