विप्लव समूहद्वारा कोभिडका बिरामी र कुरुवालाई निःशुल्क खाना

अस्पतालमा सञ्चालन भएको क्यान्टिनमा गुणस्तरहीन, महँगो र कोरोना भाइरसको जोखिम हुँदा निःशुल्क खाना अभियान सञ्चालन गरेको विप्लव समूहले जनाएको छ ।

रुकुम पश्चिम । रुकुम पश्चिमस्थित जिल्ला अस्पताल सल्लेमा कोभिड–१९ (कोरोना भाइरस) का बिरामी र उनीहरुका कुरुवालाई निःशुल्क खाना खुवाउनु सुरु गरिएको छ । कोरोना भाइरस न्यूनीकरणका लागि सरकारले लगाएको निषेधाज्ञाका कारण खाना खान समस्या भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहले यहाँ निःशुल्क खाना खुवाउन थालेको हो ।

महामारीमा बिरामी र बिरामीका कुरुवाहरुलाई खाना खान समस्या भएपछि आफूहरुले उनीहरुको सेवाका लागि निःशुल्क खाना खुवाउन थालेको नेकपा विप्लव समूहका जनवर्गीय संगठनका कार्यालयका सदस्य नरेन्द्र बिकेले जानकारी दिए । ‘बिरामी र बिरामीका आफन्तलाई खाना समस्या थियो,’ उनले भने, ‘नागरिकलाई समस्या हुँदा हामीले खाना खुवाउने कार्य सुरु गरेका हौं, यहाँ कुनै आग्रहपूर्वाग्रह र राजनीतिक ढंगले होइन ।’ विप्लव समूहले सुरु गरेको निःशुल्क खाना अभियानमा सल्लेका स्थानीयहरु र जिल्लाका केही व्यापारीहरुले पनि सहयोग गरेका छन् । स्थानीयहरुले तरकारी, भाडाकुडा उपलब्ध गराएका छन् भने व्यापारीहरुले खाद्यान्न सहयोग गरेका छन् । विप्लव समूहले सहयोगस्वरुप नगद पैसा नलिएको र सामग्री मात्रै लिएको बताइएको छ । यस कार्यले कोराना भाइरसका बिरामी र उनीहरुका आफन्तले सहज ढंगले खाना पाइरहेका छन् ।

निषेधाज्ञाका बेला बिरामी र बिरामीका कुरुवालाई खाना खान समस्या भएको थियो । निःशुल्क खाना अभियानले अहिले सहज भएको देखिन्छ । ‘कोरोना भाइरसबाट संक्रमित भएकाको मनोबल उच्च बनाउनु पनि थियो,’ उनले भने, ‘यस्तो संकटमा राज्य अभिभावक बन्नबाट पञ्छिएपछि बिरामीलाई मेरो पनि कोही छ भन्न आभाष दिलाउन यो अभियान सुरु गरेका हौं ।’ उनका अनुसार उक्त अभियान बन्द गराउन प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले प्रहरीसमेत पठाएका थिए । ‘सिडिओ साबले पठाउनु भएको भन्दै खाना बन्द गराउन अभियान चलाएको दोस्रो दिन प्रहरी आएका थिए,’ उनी भन्छन्, ‘भाडाकुडा सबै लिएर प्रशासनमा धर्ना बस्ने भन्ने बताएपछि प्रहरी फिर्ता गयो ।’

अस्पतालमा सञ्चालन भएको क्यान्टिनमा गुणस्तरहीन, महँगो र कोरोना भाइरसको जोखिम हुँदा निःशुल्क खाना अभियान सञ्चालन गरेको विप्लव समूहले जनाएको छ । क्यान्टिनभित्र गुणस्तरहीन र महँगो भएको भन्दै राजनीतिक दलले प्रमुख जिल्ला अधिकारीसमक्ष लिखित गुनासोसमेत गरेका थिए । त्यसमा प्रशासनले तदारुकता नदेखाएपछि निःशुल्क खाना खुवाउन लागिएको बताइएको छ । विप्लव समूहले बिहान चिया अण्डा, १० बजेतिर खाना र साँझको खाना खुवाउँदै आएको छ । अब दिउँसोको पोषिलो खाजा पनि खुवाउने बताइएको छ । अस्पतालभित्र भएको क्यान्टिनलाई बाहिर सञ्चालन गर्न भनिएको जिल्ला अस्पताल सल्लेका निमित्त प्रमुख विष्णुबहादुर बुढाथोकीले जनाए । ‘विप्लव समूहलाई पनि अस्पताल हाताभन्दा बाहिरबाट सेवा गर्नूस् भनेका छौं,’ उनले भने । अहिले बिरामी र बिरामीका कुरुवाले विप्लव समूहले तयार पारेको खाना खाने गरेको उनको भनाइ छ । (नागरिकन्यूज डटकमबाट साभार ।)

सम्बन्धित