नेपालगन्जको भेरी अस्पतालमा प्रहरी परिचालन

बाँके । बाँकेस्थित नेपालगन्जमा रहेको भेरी अस्पतालमा मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने घटना बढ्दै गएपछि प्रहरी परिचालन गरिएको छ । प्रहरी नायब निरीक्षक (सइ) तेजेन्द्र बिसीको कमाण्डमा २५ जना प्रहरी परिचालन गरिएको हो ।

शनिबारदेखि प्रहरीले अस्पतालमै बसेर सुरक्षा गर्ने जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । भेरी अस्पतालमा प्रहरी परिचालन गरिएपछि स्वास्थ्यकर्मीहरु माथि हुने आक्रमणका घटनासँगै अन्य घटनामा कमी आउने अपेक्षा गरिएको छ । केही दिन अघि मात्रै कोरोना भाइरसबाट संक्रमित दाङका एकजना पुरुषको मृत्यु भएपछि उनका आफन्तहरु आक्रोसित हुँदै स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् प्रहरी उपरीक्षक ओम रानाका अनुसार आक्रमणमा संलग्न मानबहादुर रावत, लोकराज र भरत रावतलाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित