पासमा विचौलिया, भाडा तेब्बर असुली

अधिकांशसँग अलपत्र परेका नागरिकलाई गन्तव्यसम्म पुर्याउन अनुमति दिएको उल्लेख छ । केही गाडी धनीहरुले कहाँबाट, कसरी पास आउँछ थाहा नभएको बताउँछन् । विचौलियामार्फत पास आउने हुँदा आफूहरु अनविज्ञ भएको उनीहरुको भनाइ छ ।

गणेश विशु

बाँके । कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण फैलिएपछि बन्द गरिएको यातायात क्षेत्र सञ्चालनका लागि नेपाल सरकारले तत्काल कुनै निर्णय गरेको छैन । बाँकेमा स्थानीय प्रशासनले पनि आन्तरिकबाहेक बाह्य यातायात सञ्चालन खुला गरेको छैन तर बाँकेबाट निर्वाधरुपमा यात्रुबहाक गाडीहरु सञ्चालन भइरहेका छन् । ट्राफिक प्रहरीका अनुसार दैनिक एक सयभन्दा बढी यात्रुबहाक सवारीसाधन बाँकेबाट बाहिरिन्छन् ।

अधिकांशसँग अलपत्र परेका नागरिकलाई गन्तव्यसम्म पुर्याउन अनुमति दिएको उल्लेख छ । केही गाडी धनीहरुले कहाँबाट, कसरी पास आउँछ थाहा नभएको बताउँछन् । विचौलियामार्फत पास आउने हुँदा आफूहरु अनविज्ञ भएको उनीहरुको भनाइ छ । पास लिन झन्झटिलो हुँदा गाडी धनी विचौलियासम्म पुग्छन् । विचौलियाले मिलोमतोमा सहजै पास उपलब्ध गराइदिने गरेका छन् । ‘नेपालगन्जबाट सुर्खेत जानलाई पास छ । यताबाट मान्छे लिएर जान्छु उताबाट आउँदा खाली फकिन्छुँ,’ एकजना फोर्स गाडीका चालकले भने, ‘पास कहाँबाट कसरी आयो थाहा छैन ।’ विचौलियालाई पास उपलब्ध गराइदिएवापत पाँच हजार रूपैयाँ दिएको उनी बताउँछन् । अत्यावश्यक काम, विशेष काम, कामदार, बिरामीका लागि सम्बन्धित जिल्लाले सहमति दियो भने उक्त सहमतिअनुसार गाडी सञ्चालन गर्न अनुमति स्थानीय प्रशासनले पनि दिन्छ । अर्काे नेपाल–भारत सीमा जमुनाह नाकामा स्थापना गरिएको होल्डिङ सेन्टरले अलपत्र परेका नागरिकका लागि गन्तव्यमा जान अनुमति दिन्छ ।

जिल्ला प्रशासन कार्यालयका प्रवक्ता दीर्घराज उपाध्यायले जिल्ला प्रशासन कार्यालयले पास (अनुमतिपत्र) दिन छाडेको बताए । अहिले जिल्लामा आन्तरिक यातायात जोर बिजोर प्रणालीमा सञ्चालन गरेको भन्दै उनले भने, ‘सरकारले निर्णय नगर्दासम्म यातायात पूर्णरुपमा सञ्चालन हुन सक्दैन ।’ अहिले सम्बन्धित जिल्लाले सहमति दिने र सोहीअनुसार गाडीले सञ्चालन अनुमति पाउने गरेको उनी बताउँछन् । विदेशबाट आएर अलपत्र परेको, बिरामी भएका नागरिकलाई चढ्नलाई मात्र गाडी सञ्चालनका लागि अनुमति दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) श्यामकृष्ण अधिकारीले जनाए । ‘कोही भोकै छ । केही बिरामी छन् । सबैलाई रोकेर साध्यै छैन,’ उनी भन्छन् । सरकारले गाडी सञ्चालनका लागि अनुमति दिएको छैन । यस्तो अवस्थामा ठेलमठेल यात्रु हालेर यातायातका साधन सञ्चालन भइरहेका छन् । प्रहरी भने जरिवाना मात्र काट्ने । त्यस्ता गाडीलाई रोक्न सक्दैन किन ? भन्ने नागरिकको प्रश्नमा उनले भने, ‘अहिले मान्छेलाई कोरोनाभन्दा भोकको डर छ । मान्छेले आफैँ बुझे पनि हुने हो । मास्कसमेत लगाउँदैनन् । कतिलाई रोकेर साध्य छ ।’ भर्खरै जिल्ला आएका बाँकेका प्रहरी प्रमुख अधिकारीले आफूले यहाँको विचौलिया रोक्ने प्रतिबद्धता जनाएका थिए । तर उनी आएको साता दिनमै गाडीको पासमा विचौलियाको चलखेल बढेको छ ।

होल्डिङ सेन्टरमा प्रहरी सहायक निरीक्षक र प्रहरी जवानसहित दुईजना नेपाली सेना हुन्छन् । यातायात व्यवसायी पनि जमुना नाकामा सक्रिय हुने गरेका एकजना प्रहरी अधिकारीले जनाए । ‘यातायात व्यवसायीले पालैपालो पास दिनुहुन्छ,’ उनले भने, ‘सोहीअनुसार हामी इन्ट्री गर्छाैं ।’ पहिला दैनिक ३० वटासम्म यातायातका साधन छुट्ने गरेका थिए । अहिले बिस्तारै निषेधाज्ञा खुकोलो बनेपछि यातायातका साधान सञ्चालनमा पनि वृद्धि भएको होल्डिङ सेन्टर जमुनाहका प्रहरी सहायक निरीक्षक पृथ्वी बुढाले बताए । उनका अनुसार अहिले दैनिक ५० वटासम्म यातायातका साधनले गाडी सञ्चालनका लागि प्रमाणित कागज लिन्छन् । उक्त प्रमाणिकरणका लागि यातायात व्यवसायीले होल्डिङ सेन्टरमा पैसा तिर्नु पर्दैन । यातायात व्यवसायी समिति, गाडी साहुँले बसपार्कबाट कुपन ल्याउँछन् सोही आधारमा होल्डिङ सेन्टरबाट प्रमाणित हुने उनको भनाइ छ ।

महँगो भाडा

विचालियाको मिलोमतोमा पास पाएपछि यातायात व्यवसायीले यात्रुबाट तेब्बरभन्दा बढी भाडा असुल्ने गरेका छन् । नेपालगन्जबाट दाङ, सुर्खेत, धनगढीका लागि सात सयदेखि १५ सयसम्म भाडा असुल्ने गरेका छन् । यी जिल्लाका लागि यसभन्दा पहिला यातायात व्यवसायीले तीन सयदेखि पाँच सयसम्म भाडा लिने गरेका थिए । ‘जाँदा यात्रु लिएर जान्छौं । आउँदा खाली आउनुपर्छ,’ नेपालगन्जदेखि दाङ जाँदै गरेका एक गाडी चालकले भने, ‘त्यसमा पनि विचौलियालाई पासको पैसा दिनुपर्छ त्यसैले यात्रुबाट बढी पैसा लिन्छौं ।’ साभारः नागरिक दैनिक ।

सम्बन्धित