८५ तोला चाँदीसहित एकजना पक्राउ

बाँके, साउन २८ । भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको ठूलो परिणाममा चाँदीसहित बुधबार साँझ एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । जमुनाह नाकाका सइ पूर्णबहादुर खत्री नेतृत्वको प्रहरी टोलीले ८५ तोला चाँदीका कन्दनसहित मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका-६ का कर्माथिले तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतीय बजार रुपैडिहाबाट कपडाको बोरामा चाँदी लुकाएर नेपाल ल्याउँदै गर्दा नेपालगन्ज-१५ जमुनाहबाट चाँदीसहित तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक (डिएपी) मधुसुदन न्यौपानेले जानकारी दिए । सीमा नाकामा खटिएका प्रहरी नायक निरीक्षक (सइ) पूणर्बहादुर खत्री नेतृत्वको प्रहरीले चाँदी बरामद र भन्सार छली गर्ने तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रवक्ता न्यौपानेका अनुसार पक्राउ गरिएको चाँदी र तामाङलाई कारबाहीका लागि भन्सार कार्यालयमा पठाइएको छ । ‘नाकामा शंकास्पद भएपछि चेकजाँच गरेका थियौं,’ जमुनाह नाकाका सइ खत्रीले भने, ‘कपडाभित्र लुकाइछिपाइ राखेको अवस्थामा चाँदी भेटियो ।’

साथै बुधबार साँझ नै भन्सार छली गरेर ल्याएको करिब एक लाख ६ हजार बराबरको कपडासमेत प्रहरीले जमुनाहबाट बरामद गरेको छ ।

सम्बन्धित