मनाइयो छापो हाल्ने पर्व

बागलुङ । कोरोनाकै बीच बागलुङको ताराखोला गाउँपालिका-२ का अर्गली मगरले छापो हाल्ने पर्व मनाएका छन् । यसपालि पाहुना नडाकी घरपरिवार मिलेर पर्व मनाएको उनीहरूले बताएका छन् । हरेक वर्ष कात्तिक २४ गते भुस पोल्ने, २५ गते पितृकार्य गरेर २६ गते छापो हाल्ने यहाँको पुरानो चलन हो । यो पर्व मनाएपछि वर्षभरिका लागि काजक्रिया छुट हुने, विवाहलगायत संस्कार गर्न बाटो खुल्ने स्थानीय भीमबहादुर घर्तीले बताए ।

यहाँ कात्तिक अन्तिम साता पितृकार्य सकेपछि हिउँदे खेती सुरु गरिन्छ । पर्वकै लागि अन्य रहेका युवायुवती गाउँ आउँछन् । बूढापाकाले साझा बनाइएको संखुवारीमा जौ छरेपछि युवायुवतीले सामूहिक रूपमा खन्छन् । यसरी खन्न आएका युवायुवतीले राम्रो वरवधू पाउने स्थानीयको विश्वास छ । बूढापाकाले छापो हाल्नका लागि बीउ छर्दा भकारीमा सहकाल आउने विश्वास पनि गरिन्छ ।पछिल्लो समय युवाहरूले एक वर्षसम्म काजक्रिया गर्ने चलन हटाएका छन् । पेसा-व्यवसाय गर्न अन्यत्र र वैदेशिक रोजगारीमा जानुपर्ने जस्ता समस्याले हरेक महिनाको २६ गतेलाई दोष फुकाउने मिति तोकिएको स्थानीय कुलबहादुर घर्तीले बताए । ‘दाह्री-कपाल काट्न नहुने, पुलपुलेसा तर्न नहुने समस्याले युवामा समस्या आयो, त्यसैले अहिले काजक्रिया छोटो बनाइएको छ,’ उनले भने, ‘वर्षभरिको सामूहिक क्रिया भने कात्तिक २६ गते नै गरिन्छ ।’ प्रकाश बरालले कान्तिपुरमा लेखेका छन् ।

सम्बन्धित