नेपाली मौलिक संस्कृतिमा कुकुर पूजा

इतिहासमा बाँदरहरुले भगवान् रामलाई सहयोग गरेको कुराबाट पनि के बुझ्न सकिन्छ भने मानिसका लागि कुकुर पनि त्यक्तिकै सहयोगी प्रणी हो । तसर्थ हामी मानिस हौं । हामीलाई भौतिक चिजले मात्र पुग्दैन । हामीलाई कुकुरले अभौतिक चिज दिन्छ ।  माया दिन्छ, समर्पण दिन्छ, भावना दिन्छ । कुकुर मानिसको साथ नछोड्ने जीव हो । कुकुर मित्र हो ।

चन्द्र रावत ‘गुराँस’

हाम्रा संस्कृति र संस्कार पनि बडो अचम्मका छन् । हाम्रा पुर्खाले संगालेर गएका मान्यतालाई जस्ताको तस्तै वर्तमान परिप्रेक्षमा समाल्दै जानु पर्ने एकातर्फ हाम्रो कर्तव्य हुनजान्छ भने अर्कोतर्फ विज्ञान प्रविधि र विकसित शिक्षा प्रणालीका कारण तिनै विश्वास र मान्यतालाई रुढीवादी र अन्धविश्वास भन्दै गर्दा पूजामा बिरालो बाँधेजस्तै गरी केही संस्कार र चाडपर्वहरू मान्दै आएको पाइन्छ । विश्वास र अन्धविश्वासको दोसाँधमा उभिइरहनुभन्दा पनि ती मान्यता र विश्वासलाई वर्तमानको कसीमा सुन घोटेर  टलक्क टल्काए झै  सुन र पितल छुट्याउन जरुरी छ । हामी प्रकृतिलाई पूजा गर्दछौं । पशुपन्छीलाई पूजा गर्दछौं र त्यसैमा रमाएर आनन्द लिन्छौं । प्रकृतिमा पाइने  रुखहरु बर, पीपल, बेल, रुद्राक्ष पूजा गरिन्छ । तुलसी र कुस पूजा गरिन्छ । जनावरहरुमा गाई, कुकुर, गोरु पूजा गरिन्छ भने  पन्छीहरुमा काग ढुङ्गामा शालिग्राम पूजा गरिनु विश्वास कि अन्धविश्वास राम्ररी परीक्षण नगरि त्यसै परित्याग गरिदिनु बुद्धिमानी होइन ।

पशु भएर पनि मानिसको परिवारसँगै परिवारको सदस्य जस्तै भएर बस्न पाउने भाग्यमानी प्राणी हो कुकुर । हिन्दकूस संस्कारमा कुकुरको पूजा गरिन्छ । कुकुरलाई मीठामीठा खानेकुरा दिइन्छ र कुकुरलाई पनि मानिस जस्तै माला लगाइन्छ । भलै सहरका गल्ली चहार्ने कुकुर किन नहोस् वर्षको  एक दिनअर्थात् कार्तिक कृष्ण चतुदर्शीका दिनअर्थात् नरक चतुर्दशीका दिन कुकुरको भव्य पूजा गरिन्छ । हिन्दूहरुको दोस्रो ठूलो चाड तिहारमा नेपालीहरु धुमधामका साथ चाड मनाउँदै गर्दा लक्ष्मी पूजाको अघिल्लो दिनअर्थात् यमपञ्चकको दोस्रो दिनमा यमराजको दूत वा भैरवको बाहन कुकुरको पूजा गरिन्छ । जसलाई नेपाली समाजको मौलिक विशेषताको रूपमा लिन सकिन्छ । आखिर मानिसले मनाउने चाडपर्वमा किन कुकुरको पूजा गरियो त ?

सामान्यतया कुकुर शब्द हेपाहा र उपेक्षित शब्द हो भन्ने गरिन्छ ।  कुकुरले नपाउने दुःख पाइयो, कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा राख्दा पनि बाङ्गोको बाङ्गै ।  कुकुरलई घ्यू पच्दैन । कुकुर भुक्दै गर्छ हात्ती लम्किँदै गर्छ । भुक्ने कुकुरले टोक्दैन । उपरोक्त उखान टुक्का नेपाली लोकजीवनले प्रयोग गर्दै आएको पाइन्छ ।

यसबाट पनि के बुझिन्छ भने  कुकर हेपाहा र  बिनाकामा लखर लखर हिँड्ने प्राणी हो । गाईले दूध र गोबर दिन्छ । कुखुराले मानिसका लागि अण्डा मासु दिन्छ । गोरुले खेतबारी जोतिदिन्छ । भेडाच्याङ्ग्राले मासु र उन दिन्छ । तर कुकुरले मानिसलाई उपभोग गर्नका लागि कुनै पनि चिज दिँदैन । तै पनि मानिसले मानिसलाई नै हजारौं रुपैयाँ तलब दिएर कुकुरको हेरचाह र रेखदेखका लागि कर्मचारी राखिरहेका हुन्छन् ।

कुकुरलाई मानिसको भन्दा पनि अझै मिष्ठान्न भोजन दिइन्छ । केही कुकुरहरुले सहरको गल्लीगल्ली चहारे पनि केही कुकुरले आलिसान महलमा आशन पाएका छन् । यति हुँदा हुँदै पनि मानिसले कुकुरको पूजा गरिनु भनेको यमराजको दूत सम्झेर वा भैरव देवताको बाहन मानेर मात्र होइन । देवताको बाहन मानेर घरमै राखेर पाल्ने र पूजा गर्ने भए मुसो गणेश भगवानको बाहन हो, बाघ देवी भगवतीको बाहन हो तिनीहरुको पूजा त गरिँदैन । तसर्थ कुकुरको पूजा गर्ने विश्वको एक मात्र समाज नेपाल हो । हाम्रो यो संस्कृति विश्वमै आद्धितीय छ । किन हाम्रा पुर्खाहरुले हाम्रो संस्कृतिमा कुकुर पूजाको व्यवस्था गरेका रहेछन् जान्न, खोज्न र बुझ्न आवश्यक छ ।

स्वामिभक्त प्राणी कुकुरः

घरको सुरक्षाको लागि पालिने कुकुरलाई स्वामिभक्तको रुपमा पनि हेरिन्छ । यो मानिसहरुसँग अत्यन्त घनिष्टका साथ मिलेर बस्न सक्दछ । कुकुर परिवारको सदस्य हो । मानव इतिहासको पहिलो पाल्तु जनावर कुकुर नै मानिन्छ । कुकुरसँग मानिसको भावनात्मक सम्बन्ध गासिन्छ । कुकुर बोल्दैन तर मानिससँग संवाद गर्न सक्छ । कुकुरले आफ्नो मालिकलाई निकै माया गरिरहन्छ । आफ्ना मालिकको आवाज, आफ्ना घरका सदस्यहरुको आवाज, गाडीको आवाज पहिचान गरी गेटसम्म पुगी स्वागत गर्छ । पुच्छर हल्लाउँदै लडीबुडी खेल्छ । इतिहासमा बाँदरहरुले भगवान् रामलाई सहयोग गरेको कुराबाट पनि के बुझ्न सकिन्छ भने मानिसका लागि कुकुर पनि त्यक्तिकै सहयोगी प्रणी हो । तसर्थ हामी मानिस हौं । हामीलाई भौतिक चिजले मात्र पुग्दैन । हामीलाई कुकुरले अभौतिक चिज दिन्छ ।  माया दिन्छ, समर्पण दिन्छ, भावना दिन्छ । कुकुर मानिसको साथ नछोड्ने जीव हो । कुकुर मित्र हो ।

कुकुर घरको बफादार चौकिदारः

वर्तमान समयमा कुकुरबिना पनि घरको सुरक्षा गर्ने वैकल्पिक व्यवस्था पनि छन्  । तर परापूर्वकालमा मानिसको सुरक्षा गार्ड कुकुर नै थियो । अतितमा मानिसको सुरक्षा कुकुरबाहेक अरुबाट सम्भव थिएन । कुकुरको साथमा भएपछि मानिस खुल्ला आकासमा पनि निर्धक्क निदाउन सक्छ । घरमा कुकुर छ भने घरको सम्पत्ति सजिलै कसैले चोरेर लैजाने सम्भावना हुँदैन । हुम्ला, डोल्पाका दुर्गम गाउँबस्तीमा पालिने भेडा च्याङ्ग्राको साथमा एउटा कुकुर अनिवार्य राखिएको देखिन्छ ।  कुकुरको असाधारण सुघ्ने क्षमता हुन्छ । घरको कुनै कोठाबाट कसैले समान चोरेर लिए पनि कुनै कुनै कुकुरहरुले चोरका पाइलाहरु सुँघ्दै चोर पत्ता लगाउन सक्छन् । यस्तै कुकुरले दैविक विपत्तिमा सुँघेर वा फरक तरिकाले कराएर पूर्व सूचना दिन्छ भन्ने कुरा कुकुर विशेषज्ञले बताएका छन् । कुकुरको निन्द्रा एकदमै पातलो हुन्छ ।  कुकुर निदाएको जस्तो गर्छ तर यसको कान एकदमै पातलो हुन्छ । घरमा कोही व्यक्ति वा जीव जनावरको आगमन हुँदा कुकुर तुरुन्त जानकारी गराइदिन्छ ।

भावनात्मक सहयात्रीका रुपमा कुकुरः

भन्ने गरिन्छ कुकुर पाल्ने मानिसलाई डाइविटिज, रक्तचाप तथा मुटुको रोग लाग्दैन । यसको मनोवैज्ञानिक कारण के हुन सक्छ भने मानिसलाई कुकुरले पहरा दिएको कारण चिन्ता र तनाव हुँदैन । कुकुर साथमा भए एक्लोपना पनि हुँदैन । मानिसको मानव पछिको सबैभन्दा धेरै आत्मियता भएको जनावर कुकुर हो । “खानाको अन्तिम गास, कुकुरको आस“ भनेझै थाल सोहोरेर अलिकति भए पनि बचाएर कुकुरलाई दिने प्रचलन छ ।

सम्बन्धित