डोटीमा जिप दुर्घटनाः चारजनाको मृत्यु, चारजना घाइते

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । दिपायलबाट बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र खत्याडीका लागि हिँडेको शैलेश्वरी यातायातको म१च ५५० नम्बरको जिप बोगटान फुड्सिल गाउँपालिका-७ को बउखेल्ले भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

दुर्घटना राति करिब १ बजेतिरको हो । दुर्घटनामा परी चारजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि बाटोमा ल्याउँदै गर्दा मृत्यु भएको हो ।  बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर-७ मा कार्यरत वडासचिव २७ वर्षीया मञ्जु त्रिपाठी, उनकी ५५ वर्षीया सासुआमा (नाम नखुलेको), र ग्रामीण जलस्रोत परियोजनामा कार्यरत केआईसिँह गाउँपालिका-४ का ४० हरिनारायण भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक ईन्द्रदेव मल्लले जानकारी दिए । मृतक वडासचिव त्रिपाठीका ४ वर्षीय छोराको पनि उपचारका लागि बाटोमा ल्याउँदै गर्दा मृत्यु भएको छ । यद्यपि यो खबरलाई जिल्ला प्रहरी कार्यालले पुष्टि गरेको छैन । मृत्यु भएको खबर आएको भने प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए । उनले अस्पताल पुर्‍याएपछि भन्न सकिने बताए ।

घाइते हुनेहरुमा ग्लोबल आईएमई बैँकमा कार्यरत सुरक्षा गार्ड टीकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यमिक विद्यालयका शिक्षक हेमन्त भट्ट र चालक कैलाश बम रहेका छन् । दुर्घटनामा जिप बाटोबाट करिब दुई सय मिटर तल भीरमा खसेको घटनास्थलमा उद्वारमा खटिएका शेरबहादुर बमले जानकारी दिए । चालकसहित पाँचजना घाइतेहरुलाई उपचारका लागि दिपायल ल्याइँदै छ। जिपमा चालकसहित आठजना सवार रहेको बुझिएको छ । यो खबर नागरिक दैनिकमा डोटीबाट अरुण बमले लेखेका छन् ।

सम्बन्धित