खाग तस्करीमा संलग्न सुर्खेत र जाजरकोटका दुईजना पक्राउ

रुपन्देही । बुटवलमा गोली चल्दा एकजना घाइते भएका छन् । खाग तस्करीमा संलग्न र प्रहरीबीच मुडभेड हुँदा तस्कर समूहकै अन्दाजी ३० वर्षका राकेश न्यौपाने घाइते भएका हुन् ।

तस्कर समूहकै एक व्यक्तिले चलाएको गोली न्यौपानेको चिउडोमा लागेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए । घाइतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेज लगिएको छ । उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । तस्कर समूहका दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एकजना फरार छन् । रुपन्देहीका प्रहरी प्रमुख एसपी पोखरेलका अनुसार खाग तस्करीमा संलग्न सुर्खेतको लेकवेशी नगरपालिका-७ का ३१ बर्से भक्तबहादुर थापा र जाजरकोटको बारेकोट गाउँपालिकाका २६ वर्षीय कणर्बहादुर राउत पक्राउ परेका छन् । जाजरकोटकै नायकवडा गाउँपालिका-४ का ३१ वर्षका वीरेन्द्रबहादुर सिंह फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट खाग जस्तो एक थान बस्तु फेला परेको र थप अनुशन्धान भइरहेको प्रहरी प्रमुख एसपी पोखरेलले बताए ।

खाग तस्करीमा संलग्न भनिएका चारजना बुटवल उपमहानगरपालिका-८ को शुक्रपथमा रहेको न्यू कलश होटलको १०५ नम्बर कोठामा हिजो साँझदेखि बसेका थिए । खाग तस्करहरु बसेको भन्ने सूचना पाएपछि आज बिहान ९ बजेतिर दुईजना सादा पोसाकका प्रहरी सुराकी गर्न पुगेका थिए । उनीहरु तस्कर नै भएको यकिन भएपछि प्रहरीले बाहिरबाट कोठाको चुक्कल लगाइदियो । तर तस्करहरुले ढोका फोडेर बाहिर निस्केको र प्रहरीकै पैस्तोल खोसेर गोली चलाउँदा तस्कर समूहकै एकजनालाई गोली लागेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी प्रतितसिंह राठोरले बताए । ‘उनीहरु तस्कर हुन भन्ने यकिन भएपछि थप टोली त्यसतर्फ जाँदै थियो तर त्यसअघि नै तस्करहरुले ढोका फोडेर प्रहरीको पेस्तोल खोसे र गोली चलाए, गोली आफ्नै साथीलाई लाग्यो’ डिएसपी राठोरले भने ।

सम्बन्धित