स्वास्थ्य सन्देश

चिसोबाट बालबालिकालाई कसरी जोगाउनेः डा. प्रदीप गुप्ताको सुझाव

‘बच्चाहरू चिसो मौसममा बढी नै बिरामी हुन्छन्’, उनी भन्छन्, ‘सामान्यतया यो मौसममा रुघाखोकीदेखि झाडापखला लाग्ने, टाइफाइड, निमोनिया सँगसँगै डेंगु पनि लाग्ने सम्भावना रहन्छ ।’ त्यस्तै यो समयमा कोरोनाबाट पनि बालबालिकालाई सुरक्षित राख्नुपर्ने गुप्ता बताउँछन् ।

काठमाडौः मंसिर महिना लागेसँगै नेपालमा चिसो मौसम सुरु भएको छ । चिसो बढेसँगै उपत्यकामा बिहान, बेलुका बाहिर निस्किने मानिसहरूको चाप पनि घटेको छ । तर, अस्पतालहरूमा भने बिरामीको चाप केही बढेको चिकित्सकहरू बताउँछन् ।

चिसो मौसममा सामान्य रुखाखोकी सबैलाई लाग्छ । तर पनि बालबालिकामा यस्तो समस्या धेरै नै देखिने गरेको नर्भिक अस्पतालका बालरोग विषेशज्ञ डा. प्रदीप गुप्ता बताउँछन् । उनका अनुसार चिसो समयमा बालबालिकालाई मौसमी रुघाखोकीदेखि झाडापखालासम्म लाग्ने गर्छ ।  ‘बच्चाहरू चिसो मौसममा बढी नै बिरामी हुन्छन्’, उनी भन्छन्, ‘सामान्यतया यो मौसममा रुघाखोकीदेखि झाडापखला लाग्ने, टाइफाइड, निमोनिया सँगसँगै डेंगु पनि लाग्ने सम्भावना रहन्छ ।’ त्यस्तै यो समयमा कोरोनाबाट पनि बालबालिकालाई सुरक्षित राख्नुपर्ने गुप्ता बताउँछन् ।

सामान्यभन्दा भिन्न लक्षण देखिएमा चिकित्सकको परामर्श लिनुपर्ने

एक वयस्क मानिस आफू बिरामी हुँदा बिरामी भएको सहजै अनुमान लगाउन सक्छ । तीन वर्षमाथिका बालबालिकाले पनि ‘मलाई यस्तो भयो’ भनेर भन्न सक्छन्  । तर, तीन वर्षमुनिका बालबालिकाहरूले व्यक्त गर्न नसक्ने भएकाले त्यसको ख्याल गर्नुपर्ने गुप्ता बताउँछन् ।

उनी भन्छन्, ‘३ वर्षमाथिका बच्चाहरूले भन्न सक्छन् । तर त्यो उमेरभन्दा मुनिका बच्चाहरूको विषयमा आमाले विषेश ध्यान दिनुपर्छ ।’ उनका अनुसार बालबालिकाहरू झगडा गर्ने, धेरै रुने, छिटोछिटो सास फेर्ने गर्न थाले भने बिरामी भएका हुन सक्छन् । ज्वरो आउने, सुत्न नसक्ने वा धेरै सुत्ने गरेमा पनि उनीहरूको विशेष ख्याल राख्नुपर्छ ।

सधैँ खेलिरहने बच्चा केही नबोली निकै शान्त भएर बसिरहेको अवस्थामा पनि उसलाई बिसन्चो भएको हुन सक्ने गुप्ता बताउँछन् । उनका अनुसार झाडापखला लाग्ने, खाना नखाने, बान्ता गर्ने, सास फेर्न गाह्रो गर्ने गरेमा तुरुन्त चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ । ‘चिसो मौसममा ज्वरो आउने, रुघाखोकी लाग्ने समस्या सामान्य भएकाले १-२ दिनमा आफैँ ठिक हुन्छ’, उनी भन्छन्, ‘तर, बच्चाले खानै मानेन, धेरै बान्ता गर्‍यो, सुत्न सकेन, सास फेर्न गाह्रो भयो भने तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ।’

आमाको आहारले छोराछोरीमा प्रभाव

महिला गर्भवती हुँदा वा बच्चालाई स्तनपान गराउँदा उनीहरूले खाएको खानेकुराको प्रभाव बालबालिकामा पर्ने गुप्ता बताउँछन् । ‘आमा प्रेग्नेन्ट वा सुत्केरी हुँदा खाने कुराले बच्चालाई धेरै फरक पार्छ’, उनी भन्छन्, ‘आमाले खाएको पोषक तत्व दूधको माध्यमबाट बच्चासम्म पुग्ने गर्छ ।’

अहिले ‘गोल्डेन थाउजेन्ड डे’ भन्ने नयाँ कन्सेप्ट सुनिन्छ । त्यो महिला गर्भवती भएदेखि बच्चा जन्मेको २ वर्ष सम्मको अवधि भएको डा. गुप्ता बताउँछन् । यो अवधिमा आमाले के के खान्छिन्, त्यो सबै बच्चाले पाउने गुप्ता बताउँछन् । उनका अनुसार यो अवधिले वच्चाको वृद्धि, विकास र रोगसँग लड्ने क्षमताको निर्धारण गर्छ । ‘आमाले पोषणयुक्त सन्तुलित भोजन खाएकी छिन् भने बच्चा स्वस्थ हुन्छ’, उनी थप्छन्, ‘छिट्टै बढ्छ, रोगसँग लड्न सक्छ, मजाले खाना खान सक्छ । तर, यदि आमाको आहारबिहार ठिक छैन भने बच्चामा पनि विभिन्न समस्या देखिन सक्छन् ।’

बच्चामा सुरुसुरुमा आइरन तथा भिटामिनको कमी हुनु पनि यसकै प्रभाव रहेको गुप्ताको भनाइ छ । उनका अनुसार आमाले गुणस्तरीय भोजन गरेमा आमाको दूधबाट बच्चाले ती पोषणहरू पाउँछ । त्यस्ता पोषणहरू उसको शरीरमा पछिसम्म पनि संकलन भइरहने गुप्ता बताउँछन् । त्यसैले सरकारदेखि लिएर अन्य अर्गनाइजेसनहरूले पनि पहिलो १ हजार दिनलाई बढी ध्यान दिने गर्दछन् ।

बालबच्चामा कोरोनाको जोखिम कति ?

अहिले बालबालिकाहरूमा वयस्कहरूको तुलनामा कोरोना संक्रमण कम भएको गुप्ता बताउँछन् । यसको अर्थ उनीहरूलाई कोरोना नै लाग्दैन भन्नु भन्दा पनि कम लाग्ने उनको ठहर छ । ‘उनीहरूलाई लाग्दैन भनेको होइन, गम्भीर प्रकारका बिरामी कम परेका छन्’, गुप्ता बताउँछन् ।

उनीहरूलाई सोचेजस्तो दरमा कोरोना नलाग्नुको पछाडि केही विशेष कारण हुन सक्छ । तर, यसको विषयमा अनुसन्धान भइरहेको गुप्ता बताउँछन् । उनका अनुसार बच्चाबच्चीमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताले यसलाई प्रभाव पारेको हुन सक्छ । बालबालिकामा कोरोनाको गम्भीर असर नदेखिए पनि उनीहरूले अरूलाई भने सार्न सक्ने उनी बताउँछन् ।

बच्चाको कुन उमेर बढी जोखिमयुक्त ?

बच्चा जन्मेको पहिलो दिन निकै संवेदनशील हुन्छ । त्यसपछि एक हप्ता, एक महिना गर्दै ५ वर्षसम्म जोखिम रहने गुप्ता बताउँछन् ।

पहिलो प्राथमिकता आमाको दूध

बच्चा जन्मिएको ६ महिनासम्म बच्चालाई आमाको दूध नै खुवाउनुपर्ने गुप्ता बताउँछन् । उनी भन्छन्, ‘बजारमा पाइने दूधहरू बच्चाका लागि त्यति राम्रो होइन । ६ महिनासम्म पानी पनि नखुवाई आमाको दूध मात्र खान दिनुपर्छ ।’ त्यसपछि भने आमाको दूधसँगै सेमि-सोलिड खानेकुराहरू खुवाउन सकिने उनी बताउँछन् ।

त्यस्तै कतिपय केसमा बच्चालाई आमाको दूधले मात्र पुग्दैन । राम्रोसँग आमाको दूध आउँदैन, अथवा स्वास्थ्यमा समस्या आएका कारण खुवाउन मिल्दैन । यस्तो अवस्थामा मात्र अन्य विकल्प प्रयोग गर्न सकिने अन्यथा आमाको दूध नै खुवाउनुपर्ने उनी बताउँछन् ।

रोग लाग्नबाट बालबालिकालाई कसरी बचाउने ?

अहिले कोरोना संक्रमणको जोखिम छ । त्यसैले हातलाई स्यानिटाइज गरेर मात्र बच्चा छुने भन्ने कन्सेप्ट आएको छ । तर, कोरोना भए-नभए पनि बच्चा समात्नुअत्रि हात धुनुपर्ने उनी बताउँछन् । ‘चाहे कोरोना होस् वा नहोस्’, उनी भन्छन्, ‘हातमा अन्य भाइरसहरू पनि हुन सक्छन् । त्यसैले बच्चालाइ छुनुअघि हात राम्रोसँग धुनुपर्छ ।’ त्यस्तै बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन पोषणयुक्त खानेकुराहरू खुवाउनुपर्ने उनी बताउँछन् । उनका अनुसार यो चिसोको मौसम भएकाले बालबालिकालाई न्यानो कपडा लगाइदिनुका साथै तातो र झोलिलो खानेकुरा खुवाउनु पर्छ ।

नेपालमा बच्चा जन्मिएपछि विभिन्न खोपहरू सरकारले निःशुल्क लगाइदिन्छ । तर, सरकारले निःशुल्क नलगाइदिने बाहेक रुघाखोकी, इन्फ्लुएन्जा, टाइफाइड, झाडापखालाविरुद्धको पनि खोप पाइने उनी बताउँछन्  । उनका अनुसार त्यस्ता खोप लिँदा रोगबाट केही टाढा रहन सकिन्छ । साभारः खुलामञ्च ।

सम्बन्धित